अध्यक्ष ढकालद्वारा प्रस्तुत कम्पनिको वार्षि प्रतिवेदन सर्वसम्मतरुपमा पारित

काठमाडौंमा आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष ढकालले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले सो प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएकोमा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, एजेण्ट, ग्राहक तथा सरोकारवालाप्रति आभार र बधाई व्यक्त गर्नुभयो।
उहाँले आगामी वर्षहरूमा व्यावसायिक विस्तार, नयाँ प्रविधि र रणनीतिसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिट्यान्स सेवाको थप विस्तार र विविधीकरण गर्दै आइएमईलाई कम्प्लीट फाइनान्सियल सोलुसन्स प्रोभाइडरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।
सभामा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले २५ वर्षको यात्रामा परिपक्वता हासिल गर्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, आइएमईको यात्रा गौरवपूर्ण र प्रेरणादायी अध्याय हो, जसले नेपालको वित्तीय क्षेत्रमा स्थायित्व र विश्वासको उदाहरण प्रस्तुत गरेको छ।
त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम प्रयोग गर्दै रेमिट्यान्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखिएको पनि बताउनुभयो।
आइएमई लिमिटेडले विगत २५ वर्षदेखि विश्वसनीय र सुरक्षित रेमिट्यान्स सेवामार्फत लाखौं नेपालीहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि ग्राहक सन्तुष्टि, नवप्रवर्तन र दिगो वित्तीय सेवा प्रवर्द्धनलाई प्राथमिकता दिने जनाएको छ।

LEAVE A REPLY