काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गर्नुभयो।
सम्मान ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकारी पौडेलले भने, “उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय हो। हाम्रो लक्ष्य भनेको रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई उच्च बनाउनु हो।”
आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यस योगदानको आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गर्दै आएको छ र यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीको रूपमा सम्मानित भइसकेको छ।









