काठमाडौँ । एमालेको यही मंसिरमा हुने महाधिवेशन मिति जति जति नजिक हुँदै जान्छ, त्यति त्यति महाधिवेशनको सरगर्मी बढिरहेको
छ । महाधिवेशनमा अध्यक्ष ओलीलाई टक्कर दिन पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलमार्फत दिलो ज्यान दिएर लागेकी छन् । उनलाई अध्यक्ष ओलीले पार्टी सदस्यता नविकरण गरी नदिएको झोकमा ओलीलाई टक्कर दिँदै पोख्रेललाई भावी पार्टी अध्यक्ष बनाउने र पोख्रेलमार्फत नै आफ्नो सदस्यता नविकरण गर्ने र ओलीको घमण्ड तोड्ने योजना भण्डारीमा रहेको बुझिएको छ । अध्यक्ष ओलीले आफू तेस्रो पटक पार्टी अध्यक्ष हुन्, पार्टीले बनाएको ७० वर्षे उमेर हद र दुई कार्यकाललाई हटाएर आफुलाई निर्विकल्प सर्वसम्मत अध्यक्षका रुपमा प्रस्तुत गर्दै राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माण बाहेक कुनै पनि विषयमा छलफल हुन नसक्ने सन्देश दिएपछि भण्डारी पक्ष मात्रै होइन तटस्थमा रहेका र ओली निकटकाले पनि ओलीको रवैया बारे भित्रभित्रै असन्तुष्टि जनाएको हुनसक्ने आँकलन गरिदैछ । यो असन्तुष्टिले प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुने र विद्याभण्डारी गुटले नै ११औं महाधिवेशनमा बाजी मार्न सक्ने सम्भावना देखिन्छ । अध्यक्ष ओलीको अडान र ढिपीदेखि आजित भएका एमाले पदाधिकारी र कार्यकर्ताहरु खुला रुपमा ओलीको विरुद्ध बोल्दा कारवाहीमा परिने डरले भुसको आगोझैं भित्रभित्रै जल्ने गरेका छन् ।
११औं पार्टी महाधिवेशनमा बाजी मार्नकै लागि वरिष्ठ उपाध्यक्ष ईश्वरे पोख्रेलले भण्डारीको सहयोगमा अलग्गै समुह बनाएर चुनावमा जाने र प्रतिस्पर्धा गर्ने तयारीमा पोख्रेल लागेको र नीति र नेतृत्वमा परिमार्जन गर्न चाहेका छन् । यसका लागि पोख्रेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित सुरैन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलगायत पदाधिकारी, स्थायी समिति, केन्द्रीय कमिटी, सदस्य पार्टीको नीतिमा प्रभाव पार्न सक्ने व्यक्तित्व लगायतसँग आन्तरिक छलफल गरिएको उनी निकट नेताहरुको भनाइ छ । स्रोतका अनुसार पोख्रेलले महाधिवेशन प्रतिनिधि छनौटमा संस्थापन पक्षबाट हुन सक्ने हस्तक्षेप वा धाँधलीतर्फ समेतमा सचेत भएर निर्भयता पूर्वक सहभागी हुन पार्टी पंक्तिलाई अपिल पनि गरेका छन् । यही मंसिर १३ गते देशैभर हुने महाधिवेशन प्रतिनिधिको छनौटमा जबजको संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनौटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यलाई एक अपिल गर्ने उनले बताएका छन् ।
यस्तै, पोख्रेलले जेनजी आन्दोलनका क्रममा व्यक्त भएको नवयुवा पुस्ता र आम जनताको आकांक्षा, आशा, असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि बढ्न नसकिने बताउँदै सबैले अहंकार त्यागेर विश्वास र आशा निर्माण गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।








