काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रुपमा नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद थपेपछि उल्लेख्य रुपमा मतदाता थपिएका हुन् । पछिल्लो समय अर्थात् मंसिर ५ गतेसम्म झण्डै साढे आठ लाख नयाँ मतदाता थपिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको समय सिमा भित्र ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आयोगले मंसिर २० गते मतदाता नामावली प्रकाशन गरिने जनाएको छ ।
संकलित मतदाता मध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताको नामावली मात्र मंसिर २० गते प्रकाशित हुने आयोगले जनाएको छ । नामावलीमा कुनै त्रुटी भएमा सो त्रुटी सच्याउनु कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सो विषयमा उजुरी दिन कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि उजुरी गर्न आह्वान गरेको छ । मंसिर २१ देखि २७ सम्म आयोगको वेभसाइटमा वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालयबाट छानबिन गरी २०८२ पौष १५ गते सम्बन्धित वडा कार्यालयबाट र निर्वाचन कार्यालयबाट अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।








