काठमाडौं । देशको कम्युनिष्ट शक्ति मानिएको नेकपा एमालेको केन्द्रीय महाधिवेशन आगामी २७ देखि २९ गतेसम्म हुँदैछ । महाधिवेशन जति जति नजिकिदै छ उति उति महाधिवेशनको रौनक देखिन थालेको छ । त्यसो त महाधिवेशनमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । पोखरेलले अध्यक्ष उठ्ने घोषणा गरिसकेका छन् । ओलीले भने पोखरेललाई विगतका भीम रावलसँग तुलना गर्न भ्याएका छन् । तर पोखरेलको साथमा पूर्वराष्ट्रपति एवम् पूर्व उपाध्यक्ष विद्या भण्डारीको दरिलो साथ रहेको छ । ओलीले जस्तो गरी पोखरेलमाथि टिप्पणी गरे पनि पोखरेल ओलीका दरिलो प्रतिस्पर्धा छन् । त्यसैले जानकारहरु एमालेको भावी अध्यक्षमा कसको पल्लाभारी हुन्छ, त्यो भन्न गाह्रो रहेको बताउछन् ।
महाधिवेशनको तयारीसँगै ओली र पोखरेल पदाधिकारीमा प्यानल खडा गरेर प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर प्यानल बनाउन ओली र पोखरेल दुवैलाई सकस रहेको देखिन्छ । त्यसो त केपी ओलीका लागि सबैभन्दा ठूलो चुनौती महासचिवमा अहिलेका शंकर पोखरेललाई दोहोर्याउने कि उपमहासचिवद्वय प्रदिप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङमध्येबाट नयाँ बनाउने भन्ने छ । पोखरेलले पुनः दोहोरिन चाहेका छन् । उता ज्ञवाली र गुरुङ पनि महासचिव बन्ने रेशमा छन् । गुरुङले त देश दौडाहाका क्रममा नेता कार्यकर्ताहरुबीचमा आफ्नो योजना नै सुनाईसकेका छन् । अध्यक्ष ओली, ज्ञवाली र गुरुङमध्ये एकलार्य उपाध्यक्ष र एकलाई महासचिव उठाएर पोखरेललाई पनि उपाध्यक्ष उठाउने योजनामा रहेको बताइन्छ ।
यस्तै विद्या भण्डारी ईश्वर पोखरेल समूहमा पनि अहिलेसम्म महासचिवको टुंगो लागेको छैन । उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई महासचिवमा अघि सार्ने सम्भावना पनि छ । तर ओलीले पृथ्वी सुब्बा गुरुङलाई महासचिव नदिएको अवस्थामा उनलार्य आफ्नो खेमामा तानेर उठाउने प्रयासमा पोखरेल सहितका नेताहरु छन् । पाण्डेले इच्छा नदेखाएमा र गुरुङ नआएमा अहिलेका सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जनालाई अघि सारिने चर्चा यो समूहभित्र छ । पाण्डे र गुरुङ आए भट्टराई र विष्ट उपमहासचिवमा बस्नेछन् ।
यसरी ओली र पोखरेलको दुई प्यानल हुँदा एमाले महाधिवेशन रोचक बन्ने देखिएको छ ।








