काठमाडौं । महिनौंसम्म केन्द्रीय समितिको बैठक बसेर कुनै निर्णयमा पुग्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएसँगै भावी नेतृत्वको लागि बरिष्ठ नेतारुबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्मरण रहोस् कांग्रेसको महाधिवेशन आगामी पुष २६ देखि २८ गतेमा गर्ने निर्णय गरिएको छ । कांग्रेसमा भावी नेतृत्वको दौड औपचारिक रुपमा सुरु भएको छ । सभापति शेरबहादुर देउवाले अवकाश लिने निश्चित भएकाले भावी नेतृत्वका लागि संस्थापन र इतरपक्षले आआफ्नो समूहमा भावी सभापति खोज्न थालेका छन् । हालसम्म संस्थापनबाट पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला तथा इतर पक्षबाट गगन थापा र डा।शेखर कोइराला सभापतिका दाबेदार देखिएका छन् । अहिले जति जति दाबेदार देखिए पनि वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र डा।शेखर कोइारालबीच नै प्रतिस्पर्धा पर्ने देखिएको छ । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवाले रुचाएको व्यक्ति प्रतिस्पर्धामा उत्रने पक्का छ । इतर पक्षबाट भने गगन थापा र डा।शेखर कोइाराला मध्ये एक उठ्ने पक्कापक्की छ । तर थापा र कोइरालाबीच कुरा नमिलेमा खड्का, थापा र कोइराला भावी सभापतिको लागि मैदानमा उत्रने पक्का पक्की जस्तो देखिन्छ । नेतृत्वको दाबीसँगै नेताहरु महाधिवेशन केन्द्रीत ध्रुवीकरण र अंकगणितको जोडघटाउमा पनि लागेका छन् । संस्थापनमा एकरुपता नदेखिए पनि कार्यवाहक सभापति खड्का प्रमख दाबेदार मानिएका छन् । उनले अहिलेसम्म चाहना व्यक्त नगरेको अवस्था छ । तर अहिले कार्यवाहक रहेकाले संस्थापनबाट स्वभाविक उम्मेदवार हुनुहुन्छ । खड्का निकट एक नेता भन्छन्– ‘संस्थापनकै अन्य शीर्ष नेताले पनि स्वीकार गरे उहाँ साझा उम्मेदवार हुनुहुन्छ ।’
पार्टी सभापतिमा उठ्न मन गर्ने संस्थापन पक्षका अन्य नेताहरुमा प्रकाशमान सिंह, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखकले पनि साझा उम्मेदवारको पक्षमा छन् । तर सभापति देउवाले को प्रति सद्भाव देखाउँछन् भन्ने संकेत दिएका छैनन् । अब आफु नेतृत्वमा नआउने घोषणा गरेका देउवाले भावी नेतृत्वमा कसलाई ल्याउने भन्नेबारे आन्तरिक छलफलमा समेत मुख खोलेका छैनन् ।
कांग्रेसका एक प्रभावशाली नेताका अनुसार पूर्व पदाधिकारीहरुले कार्यवाहक सभापति खड्कालाई भावी सभापतिको रुपमा स्वीकार गर्ने सम्भावना कम छ । किनभने उहाँहरुले कार्यवाहक सभापतिका रुपमा खड्कालाई स्वीकार गर्न सक्नु भएन । महाधिवेशन विवाद मिलाउन सभापति देउवाकै भूमिका खोज्नु भयो ।’ ती नेता भन्छन्– ‘यद्यपी यस सम्बन्धमा सभापति देउवाकै भूमिका निर्णायक हुनेछ ।’
यसक्रममा महामन्त्री थापाले आगामी महाधिवेशनमा आफु सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । ‘म १५औ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ । मलाई विश्वास छ साथीहरुले मलार्य अवसर दिनुहुनेछ ।’ उनले भनेका छन् । उनी निकट केन्द्रीय सदस्य अजय शिवाकोटीले भने– ‘पहिला हामीसँग, सानो समूहमा भन्नु भएको थियो ।’ उहाँले सार्वजनिक रुपमा घोषणा गरेर मैदानमा प्रवेश गर्नुभएको हो ।’
त्यसो त थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका प्रतिनिधिले आफुलाई समर्थन गर्ने विश्वास लिएका छन् । तर उनीहरु पनि विभाजित छन् । विशेष महाधिवेशनको एजेण्डामा थापाले सहयोग गरे पनि त्यसका अलावा गुरुराज घिमिरेलगायत भने केही दिनअघि शेखर कोइरालाको पक्षमा खुलेका छन् । यसैगरी अघिल्लो महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा देउवाका निकटतम प्रतिद्वन्दी डा।कोइराला सभापतिका प्रबल दाबेदारका रुपमा देशदौडाहा गरिसकेका छन् । कांग्रेस पूर्वमहामन्त्री रहेका डा।शशांक कोइरालाले चितवनमा भनेका छन्– ‘शेखर दाई र म सल्लाह गर्छौ, हामी मध्ये एक सभापतिका उम्मेदवार हुन्छौं ।’ शंशाकले नेता शेखरलाई सघाउने संकेत दिएका छन् । एक नेताका अनुसार यस पटक सभापतिको लागि कोइराला परिवार एक भएर मैदानमा उत्रने अवस्था देखिन्छ ।







