काठमाडौं । जेनजी आन्दोलनको बलमा ऊर्जा मन्त्री बन्न सफल भएका कुलमान घिसिङको अगुवाईमा स्थापना भएको उज्यालो नेपाल पार्टीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने निष्कर्षसहित आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । प्रज्ञा प्रतिष्ठानमा केही दिन अघि आयोजित पार्टीको औपचारिक घोषणा सभामा सार्वजनिक गरिएको घोषणा पत्रले संविधानको मुलभूत व्यवस्थालाई आत्मसात गर्दै थुप्रै सुधारहरु गर्नुपनृे औल्याएको छ ।
सो घोषणा पत्रमा बहुमत आउने निर्वाचन प्रणाली, अढाई वर्षसम्म प्रधानमन्त्री फेर्न नपाउने, पालिकामा गैरदलीय चुनाव, संघीयताको अभ्यासलाई कायमै राख्ने, सरकार परिवर्तनसँग राजनीतिक नियुक्तिहरु तत्कालै रिक्त हुने, अन्तर जिल्ला र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार जस्ता विषय उल्लेख गरिएको छ ।
घोषणा सभामा पार्टीका संरक्षक एवम् ऊर्जा मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले देश बनाउने विश्वास व्यक्त गरे । आफुले आठ वर्षदेखि उज्यालो अभियान चलाइरहेको र अहिले पार्टीका रुपमा आएको उनको भनाई थियो । ‘अब यहाँबाट हिडेपछि कता जाने होला तपाईहरुले भन्दा अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेको छ ।’ उनले भने । राजनीति परिवर्तन गर्न नेताहरु सफल भएको भन्दै घिसिङले थपे ‘वास्तवमा परिवर्तन, सिस्टम, विचारले मात्र देश बन्दो रहेछ । लिडरसीप जरुरी छ । यदि नेतृत्व राम्रो भयो भने देश बन्दो रहेछ । ’
सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले जनताले खोजेको सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षा पुरा गर्न दल खोलेको बताए । ‘आम जनताले खोजेको सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षा पुरा गर्न नयाँ दलको स्थापना गर्नु अपरिहार्य भएको छ ।’ उनले भने ।








