सम्पादकीय
निर्वाचन हुने वा नहुने दोधारको स्थितिपछि करिब करिब अब निर्वाचन हुने पक्का भएको छ । तर दलहरुलाई निर्वाचन भयरहित हुने र निष्पक्ष रुपमा निर्वाचन हुने कुरामा शंका
छ । सरकारले यसको समाधान गर्न नितान्त आवश्यक छ । यसका लागि जनप्रतिनिधि र सर्वसाधारणले पनि सरकारलाई सघाउनु पर्दछ । जेनजी आन्दोलनका बेला भगाइएका कैदी बन्दी कहाँ छन् र लुटिएका अत्याधुनिक हतियार कहाँ र कस्तो अवस्थामा राखिएका छन् भन्ने कुराको ज्ञान सरकारलाईभन्दा सम्बन्धित निकायका स्थानीयलाई थाहा हुन्छ । किनकी ती भगौडा कैदीबन्दी र हतियार निर्वाचनका बेला आकाशबाट झर्ने होइनन् । यही धर्तीमै छन् । त्यसैले थाहा पाउनेले सरकारलाई सुराकी दिने र सरकारले पनि सुराकी दिनेलाई सुरक्षा गर्ने व्यवस्था गर्ने हो भने निर्वाचन अगावै ती सबै पत्ता लाग्ने र नियन्त्रणमा लिन सकिने हुन्छ । यस कार्यप्रति सरकारले ध्यान दिनु उचित देखिन्छ । सरकारले निर्वाचनमा सुरक्षा गरिदिएला र सुरक्षित भइएला भनेर आस गर्नुभन्दा थाहा पाएको कुरा सरकारलाई सुराकी दिँदा नै बढी सुरक्षित भइने कुरामा दुईमत छैन । सुराकी दिनु सर्वसाधारणको पनि दायित्व हो । सबैकुरामा सरकार कै मुख ताक्नु र बाटो हेर्नु राम्रो होइन ।
निर्वाचन आउन अब साढे २ महिना मात्र बाँकी छ । यो छोटो अवधिमा निर्वाचन खर्च जुटाउन र शान्ति सुरक्षाको प्रत्याभुति गराउन सरकारलाइृ भ्याईनभ्याई छ । यस्तो अवस्थामा थाहा भएको कुरामा सुराकी दिएर सहयोग गर्नु जनस्तरको दायित्व हो । जुन जनताकै लागि पनि हो । जेनजी आन्दोलनका क्रममा प्रहरी प्रधान कार्यालयका अनुसार एक हजार दुई सय ८१ थान अत्याधुनिक हतियार र एक हजार ६ सय ८७ थान गोली लुटिएको थियो । त्यस्तै १४ हजार ५ सय ४९ कैदी फरार थिए । जसमध्ये सबै कैदी पक्राउ परेका छैनन् भने लुटिएका हतियार पनि बरामद हुन बाँकी नै भएको विभिन्न विवरणहरुले बताइरहेका छन् । एक रिपोर्टका अनुसार अभैm पनि चार हजार पाँच सय कैदी फरार छन् भने लुटिएका मध्ये ३५ प्रतिशत हतियार गायव नै छन् । जेनजीका नाममा अराजकता मच्चाउन चाहनेले निर्वाचनका बेला घर बाहिर निस्कनै नदिने हौवा फैलाई रहँदा गृहमन्त्रालय भने चुपचाप छ । जसले गर्दा पनि जति जति निर्वाचन नजिकिदै जान्छ, त्यति त्यति दलहरु र मतदाताहरुमा भय पनि बढ्दै गइरहेको छ । मतदाता र उम्मेदवारलाई धम्क्याउने क्रम बढ्दै गएमा चुनाव प्रभावित नहोला भन्न सकिने अवस्था छैन । त्यसकारण यस्ता सम्भावित क्रियाकलापप्रति गृहमन्त्रालय संवेदनशील भएर नलाग्ने हो भने भयकै चिन्ता भइरहने छ । त्यसैले सरकारले आवश्यक संवेदनशीलता देखाउँदै सुरक्षा गर्नेतर्फ ध्यान पुर्याउन जरुरी छ ।









