काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा आफू सहमहामन्त्रीको सशक्त दाबेदार रहेको बताएका छन् । हालैकाठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन् ।
आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उमेदवारी दिने दाबी समेत गरे । पार्टीका शीर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए ।
“अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे हो । यसमा लजाउने कुरा भएन । मैले आगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु । म अरुजस्तो तपाईंहरुसँग झुटो बोल्दिन । म माथिबाट तल झर्ने मान्छे होइन तलबाट माथि जाने हो । मेरो जीवन पनि त्यस्तै छ । तल सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु । सहमहामन्त्रीमा मेरो उमेदवारीको निम्ति आग्रह गर्छु । उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ महामन्त्रीमा मेरो उमेदवारी जान्छ या उपसभापतिमा जान्छ । यो पटक सभापतिमा जाँदैन । यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उमेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ ।”
उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए ।








