के एमाले र कांग्रेसको सरकार ढाल्ने नयाँ रणनीति सफल होला?

—भोजकुमारी खड्का
जेनजी विद्रोहबाट जन्मिएको सरकार र निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन हुने माहोल बनेको र जसरी पनि निर्वाचन हुने दावी गरिरहेको बेला विघटित प्रतिनिभि सभाका दुई प्रमुख दल कांग्रेस र एमालेले भने संसद पुर्नस्थापनाको लागि न्वारान देखिको बल प्रयोग गरीरहेका छन् । बल प्रयोग गर्ने क्रममा निवर्तमान सांसदको हस्ताक्षर गराई बहुमत जुटाएको प्रमाण पुर्याएर सर्वाेच्च अदालतमा संयुक्त रुपमा रिट निवेदन दिने तयारी गरिरहेका छन् । तर गठबन्धन दलहरु भित्रै एकमत नहुँदा एमाले–कांग्रेसको यो रणनीति असफल हुने प्राय निश्चित नै छ । कांग्रेस संस्थापन पक्ष सरकार ढाल्ने रणनीतिमै भए पनि संस्थापन इतर पक्ष भने जसरी पनि चुनाव हुनैपर्ने र नभए मुलुकमा राजनीतिक संकट निम्तिने बताइरहेका छन् । त्यस्तै नेकपा एमाले अर्थात प्रतिनिधि सभाको दोस्रो ठूलो दलका कतिपय सांसदहरु पनि चुनाव हुनैपर्ने पक्षमा रहेका छन् । यस्तो अवस्थामा बहुमत नपुग्ने र सर्वाेच्चमा रिट दायर गर्न नमिल्ने अवस्था आउने हुँदा नयाँ रणनीतिले काम नगर्ने देखिन्छ ।
एकातिर अवस्था यस्तो छ भने अर्कातिर सर्वाेच्चले प्रतिनिधि सभा ब्युताउने फैसला गर्यो भने जेनजीहरु पुनः सडकमा आउने र विगतमा (भदौ २३ र २४) जस्तै घटना नहोला भन्न सकिने स्थिति छैन । विध्वंशकारीहरुले विगतमा जस्तै रणनीति बनाई घुसपैठ गरेर अर्काे विध्वंश मच्चाउन सक्छन् । त्यसबेला राज्यका सुरक्षा निकायले सुरक्षा देलान र देश सुरक्षित होला भन्ने कुराको पुष्टि भाद्र २३ र २४ गतेको घटनाले नै गरिसकेको छ । त्यतिबेला देशको सुरक्षा गर्नु त परकै कुरा, सुरक्षाकर्मी लाई आफ्नै सुरक्षा गर्न हम्मे हम्मे परेको थियो । हतियार छोड्ने र बर्दी फुकालेर भाग्नै भ्याईनभ्याई भएको देखिन्थ्यो ।
जेनजी सडकमा आउनुपर्ने अवस्था आए फेरि पनि यस्तै घटना नदोहोरिएला भन्न सकिने अवस्था छैन । त्यसैले सर्वाेच्चले संसद ब्युताउने आदेश दिने सम्भावना देखिदैन । किनकी राज्यले क्षति व्यहोरीरहने हैसियत राख्न पनि सक्दैन ।
कांग्रेस र एमालेले प्रतिनिधि सभा ब्युताउने रटान किन गरेका होलान?
जेनजी आन्दोलनबाट जन्मिएको सरकार विषम परिस्थितिमा बनेको सरकार हो । यो कसैको लहडमा बनेको होइन । त्यसैले यसले निष्पक्ष र भयरहित अवस्थामा र तोकिएकै समयमा निर्वाचन गर्ने अधिकार राष्ट्रपतिबाट पाइसकेको छ । तर पनि कांग्रेस र एमाले यो सरकार असंवैधानिक हो भन्दै प्रतिनिधि सभा ब्युताउन खोजिरहेका छन् । यसको कारण के होला त ? एमाले एक्लै प्रतिनिधि सभा ब्युताउने अडानमा हुँदा कांग्रेस निर्वाचनकै पक्षमा थियो र कांग्रेस संस्थापन इतर पक्ष अझै पनि निर्वाचनकै पक्षमा छ । तर एमाले अध्यक्ष ओली देउवा निवासमा पुगेर देउवाको कान फुकेपछि कांग्रेसको संस्थापन पक्ष अहिले प्रतिनिधि सभा ब्युताउनेमै लागेको छ । किनकी प्रतिनिधि सभा ब्युतिएर आलो पालो प्रधानमन्त्री बन्ने पूर्व सहमति अनुसार अब देउवाको पालो नजिकिदै आएको छ । त्यसकारण पद र प्रतिष्ठाकै लागि देउवा प्रतिनिधि सभा ब्युताउन राजु भएको सहजै अनुमान गर्न सकिन्छ ।
तत्कालिन प्रधानमन्त्री ओलीलाई पनि पद त्याग्नु परेकोमा ठूलो चिन्ता भएको र बाँकी समय प्रधानमन्त्री हुन पाइन्छ की भन्ने दुब्लो आशा छ । जनता र देशका लागि प्रतिनिधि सभा ब्युताउन लागेको भने पक्कै पनि होइनन् भन्ने अनुमान नागरिकस्तरको छ ।
अर्काे सम्भावित कारण हो आगामी निर्वाचनमा कसैको पनि बहुमत न आउने हुँदा धेरै दलको गठबन्धनमा सरकार बनाउनुपर्ने र आफुहरु प्रधानमन्त्री हुन नपाउने भएका कारण पनि प्रतिनिधि सभा ब्युताउन जोडबल गरेको हुन सक्ने अनुमान सर्वत्र गरिएको छ । एक थरीले कांग्रेस एमालेको प्रतिनिधि सभा ब्युताउनुपर्ने माग बेमौसमी बाजा भएका कारण अब ताजा जनादेशबाटै सरकार गठन गर्नु नै व्यवहारिक ठहरिएला ।

LEAVE A REPLY