सम्पादकीय
नेपालमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जानेको जमात हेर्दा लाग्छ नेपाल नै रित्तियोकी भन्ने भान । वास्तविकता पनि त्यस्तै नै छ । गाउँघरमा बुढाबुढी र केटाकेटी मात्रै रहेका छन् । युवाशक्ति विदेश पलाएन हुँदा गाउँघरमा शुन्यता छाएको छ । न जिउँदाको ‘जन्त न मर्दाको ‘मलामी’ पाइन्छ । उर्वरशील जमिन बाँझो बस्दा र लेकाली पाखाहरुमा खर्क नहुँदा पशु उत्पादन र अन्नादी सागपात, फलफूल समेतमा परनिर्भरता हुँदा परिवारले रेमिट्यान्सबाट भित्रिएको रकम धेरै बचत गर्न सक्दैनन् । यो तितो यथार्थ हो ।
वैदेशिक रोजगारीको एउटा पाटोबाट हेर्दा स्वदेशमा रेमिट्यान्स भित्रिइरहेको छ । गरिबी दर ह्वात्तै घटेको छ, यसले मुलुकलाई विपन्नताबाट सम्पन्नता तिर धकेलि रहेको छ । यो राम्रो पक्ष पनि हो । तर वैदेशिक रोजगारीको अर्को पाटोबाट हेर्दा रोजगारीमा जाने हजारौंका परिवार पीडामा डुबिरहेका छन् । रोजगारीबाट आएको रेमिट्यान्सले जति आनन्दीत भए पनि त्यसको २०औं गुणा बढी पीडा दुःखद् घटनाले दिइरहेको हुन्छ । वैदेशिक रोजगारीमा पठाउने, जानेहरु मध्येबाट दैनिक ५ वटा शब घाइतेहरु र अंगभंग भएकाहरु नेपाल फर्किनु ज्यादै पीडादायी छ । यस्तो अवस्थाको अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारी दिने र भविष्य नेपालमै छ भन्ने मानसिकता युवाहरुमा ल्याउन नितान्त आवश्यक छ । जसले युवाहरुको उर्वरशक्ति नेपालमै सही सदुपयोग हुने र नेपालको विकासमा टेवा पुग्ने निश्चित छ । अहिले विदेशमा सस्तो मुल्यमा उर्वरशील शक्ति खर्च गर्न बाध्य छन् युवा जमात । देश हाँक्छौं भन्ने राजनेता र देशको नेतृत्व गरिरहेका व्यक्तिहरुले यस्तो कुरा वा अवस्था बारे गहन रुपमा सोच्नुपर्ने बेला आएको छ । नेतृत्वले नसोचे कस्ले सोच्नेरु यतिबेला नगरे कहिले गर्ने भन्ने कुराको कौतुहलता मेटाउनु आजको अपरिहार्यता भएको छ ।
अहिले विदेशमा कमाएर पठाएको पैसाले जीन्दगी सुखको बनाउला, राम —रौस गरौंला, जग्गा जमिन जोडौला, शहरमा महल बनाउँला भन्ने अपेक्षा गरीरहेको परिवारले दुःखको अर्थात टुहुरो जीन्दगी बिताउनुपर्ने र जीवनका कठिन पाइला चाल्नुपर्ने बाध्यता रहेको छ । यस्तो बाध्यता हटाई स्वदेशमै भविष्य देखाउनुपर्ने सरकारको दायित्व छ । यो दायित्व पुरा गर्न सरकारले गहन रुपमा सोच्न आवश्यक छ ।
देशलाई स्वर्ग जस्तो बनाउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रटान गरीरहेका जनप्रतिनिधिहरुले यस्तो तितो यथार्थतालाई बुझ्न सक्ने हैसियत राख्नु पर्दछ ।









