काठमाडौँ । टेरामक्स प्रकरणमा ३ अर्व २१ करोड ८३ लाख प्रष्टाचार गरेको आरोप लागे पछि भ्रष्टाचार प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुई आदेश झिकाएको छ । आज विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले यसैसँग सम्बन्धित सर्वोच्चका दुईवटा आदेश मगाउन भनेको हो ।
यस भ्रष्टाचारका मुद्दामा नेपाली काँग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत जोडिएका थिए । उनले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोप थियो । गत वर्ष जेठ १ गते अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेतसहित १६ जनाउपर भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।









