काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलवार विहान ६ बजे निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिइन्।
जियाको पार्टी बाङ्ग्लादेश नेशलिस्ट पार्टी बीएनपीले फेसबुक मार्फत उनको निधन भएको जनाएको छ । उनको उपचारमा खटिएका चिकित्सकहरूले सोमवार राति उनको अवस्था अत्यन्तै गम्भीरू रहेको बताएका थिए। उनलाई लाइफ सपोर्टमा राखिएको थियो। उनको उमेर र समग्र स्वास्थ्य अवस्था राम्रो नरहेका कारण उनलाई एकैपटक धेरै उपचार गर्न सम्भव नरहेको चिकित्सकहरूले बताएका थिए।
जिया बाङ्ग्लादेशमा सन् १९९१ मा पहिलो पटक सरकार प्रमुख बनेकी थिइन् र बाङ्ग्लादेशमा महिला सरकार प्रमुख बनेको त्यो नै पहिलो पटक थियो। २० वर्षमा भएको देशको पहिलो प्रजातान्त्रिक चुनावमा उनको नेतृत्वमा बीएनपी विजयी भएको थियो।
गत वर्ष प्रधानमन्त्री पदबाट अपदस्थ भएकी अवामी लिगकी नेत्री शेख हसिनासँगको लामो समयदेखिको राजनीतिक प्रतिस्पर्धा र भ्रष्टाचारको आरोपका कारण जियाको राजनीतिक जीवन बिग्रिएको थियो।
बाङ्ग्लादेशका दिवङ्गत भइसकेका राष्ट्रपति जियाउर रहमानकी पत्नी जिया सन् २०१८ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पाँच वर्षका लागि जेलमा परेकी थिइन्।
उनीमाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो। उक्त आरोप उनले अस्वीकार गर्दै आफूविरुद्धका आरोपहरू राजनीतिक रुपमा प्रेरित रहेको बताउने गरेकी थिइन्।









