काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको सुरक्षा, सम्मान र मनोबल उच्च बनाउने ठोस कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ। ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकको सामूहिक पहल कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति मन्त्रीपरिषद्बाट पारित गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो।
भदौ २३–२४ को जेन जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटले निजी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै ढकालले गलत घुसपैठमा संलग्नहरूमाथि कडा कारबाही आवश्यक रहेको बताउनुभयो। महासंघको अध्ययनअनुसार उक्त घटनाबाट करिब ४० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति र झण्डै ८१ अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रको आर्थिक नोक्सानी भएको छ।
आसन्न निर्वाचन लोकतन्त्र संस्थागत गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले सरकार र राजनीतिक दलहरूको सक्रियताको प्रशंसा गर्नुभयो। डेडिकेटेड ट्रंकलाइन विवाद समाधानतर्फ उन्मुख भएकोमा प्रधानमन्त्रीको पहलप्रति धन्यवाद व्यक्त गर्दै यसले निजी क्षेत्रको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो।
ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिँदै आएको स्मरण गराउँदै लगानीमैत्री वातावरण, सम्पत्तिको सुरक्षा, द्रुत सेवा तथा सुरक्षा संयन्त्रको व्यवस्था गर्नुपर्ने बताए। बन्द, हडताल, तोडफोड र आगजनीजस्ता गतिविधिलाई उद्योग–व्यवसायका लागि निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग पनि उहाँले अघि सार्नुभयो। बैंकिङ प्रणालीमा करिब ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहे पनि असुरक्षा र नीतिगत अवरोधका कारण लगानी बढ्न नसकेको उहाँको भनाइ छ।
युवा पलायन रोक्न सहज व्यवसाय दर्ता, सहुलियतपूर्ण कर्जा, बजार सुनिश्चिततासहितको युवा उद्यमशीलता विकास कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक दल, युवा पुस्ता र सञ्चारमाध्यमलाई जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
Home अर्थतन्त्र अध्यक्ष ढकालद्वारा समृद्धिको सारथीकारुपमा रहेको निजीक्षेत्रको सुरक्षा, सम्मान र मनोबल उच्च राख्न...









