अब सिंगो देश चुनावमा होमियो, निर्वाचन हुने पक्का

काठमाडौं । संसदको दोस्रो ठूलो दल तथा तत्कालिन सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पनि अन्ततः चुनावमा जान तयार भएको छ । जेनजी आन्दोलन, त्यसको जगमा बनेको वर्तमान सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनको चर्को विरोध गर्दे आएको नेकपा एमालेले शनिबार बालुवाटारमा ३ प्रमुख दलबीच बसेको उच्च छलफलपछि एमाले चुनावमा जान तयार भएको छ । यससँगै सिंगो देश अब चुनावमा होमिएको हो । संसदको दोस्रो ठूलो दल नै चुनावमा भाग नलिने भएपछि चुनाव होला वा नहोला भन्ने दोधार भएको अवस्था थियो ।
भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ज्यान जोगाउन सेनाको हेलिकप्टर प्रयोगगरी बालुवाटारबाट बाहिरिएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक बालुवाटार छिरी चुनावमा जाने प्रतिबद्धता जनाएपछि देश चुनावमय भएको छ । एमालेले यदि चुनावमा भाग नलिएको थियो भने निर्वाचन आयोगबाट खारेजीमा पर्ने सम्भावना थियो । तर अब निर्वाचनमा जाने प्रतिबद्धतापछि खारेजीबाट जोगिएको छ । जुन अत्यन्त सुन्दर पक्ष हो ।
गत शनिबार प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरु देउवा, ओली र प्रचण्डलाई नियन्त्रण गरेर गहन छलफल गरी चनावमा जान आग्रह गरेपछि शीर्ष नेताहरु आगामी फागुन २१ गते तय गरीएको प्रतिनिधि सभाको निर्वाचनमा जाने प्रतिबद्धता जनाएका छन् । नेताहरुले प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री कार्कीले पनि दलहरुले चासो राखेका विषय सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाइन् । दलहरुले यस अघि चुनावी वातावरण र सुरक्षाको प्रत्याभुति भएको खण्डमा आफुहरु चुनावमा जाने बताउँदै आइरहेका थिए । प्रधानमन्त्री र तीन शीर्ष दलको कुरा मिलेपछि चुनाव हुने पक्का भएको सुचना सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका जगदीश खरेलले जानकारी गराए । उनले भने ‘चुनाव नहुने हो की भन्ने दुविधा हटेको छ । सबैदल चुनावका लागि तयार भएका छन् । प्रधानमन्त्रीले पनि सरकारले सुरक्षा प्रत्याभुति गराउँछ भन्नुभएको छ, त्यसैले अब चुनाव हुन्छ ।’
जेनजी आन्दोलनपछि पहिलो पटक पूर्वकार्यस्थल९बालुवाटा० छिरेका तीनवटै पूर्वप्रधानमन्त्रीले छलफलमा चुनावका लागि आफुहरु प्रतिबद्ध रहेको तर त्यसका लागि शान्ति, सुव्यवस्था सुनिश्चित हुनुपर्ने विषय उठाएका थिए । सञ्चारमन्त्री खरेलका अनुसार एमाले अध्यक्ष ओलीले एमाले तयारीमा जान तयार रहेको स्पष्ट पार्दै सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरे । त्यसैगरी कांग्रेस सभापति देउवाले पनि संसद प्रतिनिधि सभा पुनःस्थापनाको कुरा नगरी चुनावमै जानुपर्ने विषय राखे । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि चुनावमा जानुको विकल्प नभएको बताउँदै आफ्नो पार्टी पूर्ण रुपमा चुनावमा होमिइ सकेको बताएका थिए ।
छलफलका क्रमा प्रधानमन्त्री कार्कीले भनिन् ‘चुनाव गराएर म गइहाल्छु, यो घर तपाईहरुकै हो । त्यसैले जसरी पनि चुनाव गराऔं, तपाईहरु निर्वाचनका लागि तयार नै हुनुहुन्छ भन्ने मैले देखेकी छु । वातावरण पनि त्यस्तै देख्छु । राष्ट्रको भविष्य स्थिर र दिगो लोकतन्त्रका लागि अलमल नगरी चुनाव सफल पारौं । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौं ।’

LEAVE A REPLY