निर्वाचनमा पुरानै दल रोज्नेकी वैकल्पिक खोज्ने ?

काठमाडौं । सहज र नियम अनुसार २०८४ मंसिरमा हुनुपर्ने आम निर्वाचन भाद्र २३ र २४ गते जेनजी आन्दोलनले ल्याएको परिवर्तनका कारण करिब १ वर्ष ९ महिना अघि नै अर्थात २०८२ फागुन २१ गते नै हुने तय भएको छ । यसका लागि सबै राजनीतिक दल, सरकार, निर्वाचन आयोग सबै तयारीमा जुटेका छन् भने आम मतदाता कस्लाई भोट हाल्ने भन्ने दोधारमा रहेका छन् । दलका नेता कार्यकर्ताहरुले आफ्नु दलका कार्यशैलीबाट आजित भएका केही दलसँगै सम्बन्धित कार्यकर्ता र स्वतन्त्र मानिएका मतदाताहरु भने नयाँ दल अर्थात् वैकल्पिक शक्ति नै खोज्ने तर्फ लागि रहेका देखिन्छन् । उनीहरु पुराना दलको काम कारवाहीबाट आजित भएर अब एक पटक नयाँ दललाई मौका दिनुपर्ने होकी भन्नेतर्फ सोच्न थालेको बुझिदैछ । पुराना दलहरुले २०४६ सालदेखि २०६२÷०६३ हुँदै हालसम्म आलोपालो सत्ता चलाए । झण्डै ३६ वर्षको अन्तरालमा मुलुकलाई स्वीट्जरल्याण्ड जस्तो बनाउने भाषण गरे पनि राज्यलाई ऋणमा चुर्लुम्म डुबाए । युवाशक्ति सबै विदेश पठाएर उनीहरुले पठाएको रेमिट्यान्समै चित्त बुझाए । आलोपालो र मिलेमतोमा सरकारको नेतृत्व गर्दै आफु, आफन्त, नातागोतालगायतलाई मात्र अवसर दिए । दलमा लागेर त्याग तपस्या गर्नेहरुलाई अवसर नै दिएनन् । यी कारणले गर्दा नै दल निकटका नेता कार्यकर्ता नै असन्तुष्ट देखिन्छन्।
त्यसो त लोकतान्त्रिक गणतन्त्र आएपछि केही नभएका होइनन् धेरै परिवर्तन भएका छन् । तर परिवर्तन गर्ने नाममा भ्रष्टाचार व्याप्त भएका छन् । यिनैका विरुद्ध जेनजी लागेको हुँदा २४ घण्टामै राजनीतिक परिवर्तन भए । पुराना दल र उनका कार्यशैली मन नपराएर उनीहरुलाई पाखा लगाउन जेनजीहरुले वैकल्पिक शक्ति उदाउन भन्ने चाहना राखेका छन् । पुराना दलका नेताहरुले कतिसम्म भ्रष्टाचार गरेका रहेछन् भन्ने कुरा पनि भाद्र २४ गतेको आन्दोलन मार्फत प्रष्ट पारी दिएका छन् ।
त्यसै गरी पुराना राजनीतिक दलहरु नयाँ दलबाट डराएर मन मिल्ने दलसँग पार्टी एकता गरीरहेका छन् । फुटेका दलहरु जुटिरहेका छन् । कुनै बेला संसदको पहिलो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले दलको नामै मेटेर नेपाली कम्युनिष्ट पार्टी बनाई विभिन्न दलसँग एकता गरेर आगामी निर्वाचनमा पहिलो पार्टी हुने सपना बुनिरहेका छन् । राप्रपा हालै एक भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस पनि केही दिनपछि एकता गर्ने सम्भावना देखिदैछ । दलहरुको यो धु्रवीकरणलाई वैकल्पिक शक्तिसँगको कायरता हो भन्ने पनि बुझिन्छ ।
रवि लामिछाने नेतृत्वको रास्वपामा अहिले स्वच्छ छविबाट परिचित कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जोडिन पुगेका छन् । यी दुई व्यक्तित्व स्वच्छ छविका भए पनि पार्टी नेतृत्व रवि लामिछाने भने सहकारी ठगीका आरोपित हुन् । यसले स्वच्छ छविबाट परिचित र भ्रष्टाचारको विरोधीका रुपमा रहेका कुलमान घिसिङ र बालेन शाह बालेन्द्रलाई बनेको छविमा बाधा पुग्न सक्छ । जे भए पनि नयाँ वैकल्पिक शक्तिका रुपमा उदाएका छन् । जेनजीहरुको पनि यसै रास्वपा पार्टीलाई पूर्ण समर्थन रहेको देखिन्छ । यस्तो राजनीतिक परिवेशमा अब आम स्वतन्त्र मतदाताले पुरानै दल रोज्नेकी नयाँ दलवैकल्पिक शक्ति खोज्ने गम्भीर भएर सोच्ने बेला आएको छ । देशलाई समृद्ध बनाउने नेता चुन्ने अधिकार हाम्रै हातमा छ ।

LEAVE A REPLY