काठमाडौं । संस्थापन पक्ष र इतर पक्षको आआफ्नै अडानले १५औं महाधिवेशन नयाँ वर्ष २०८३ यता कि उता भन्ने विवाद कायमै छ । कांग्रेसले १५औं महाधिवेशन कहिले गर्ने भन्ने ठोस् निर्णय निकाल्न नसक्दा महाधिवेशन मिति अनिश्चित भएको हो । कांग्रेस संस्थापन पक्षले १५औं महाधिवेशन २०८३ साल वैशाख २८ देखि ३१ मा गर्ने भन्दै नयाँ कार्यतालिका तय गरिसकेको छ भने संस्थापन पक्ष इतरका गगनकुमार थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे लगायतका नेताहरुले विशेष महाधिवेशन कुनै पनि हालतमा नरोक्ने र पौष भित्रै महाधिवेशन गर्ने भन्दै देशभरीका महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं आउन तयारी अवस्थामा रहन सुझाव दिएका छन् । कांग्रेस विधानले दिएको अधिकार अनुसार पौष महिना भित्रै कांग्रेको १५औं महाधिवेशन भईसक्नु पर्ने कांग्रेस नेता गुरुराज घिमिरेको भनाई छ । देशभरका कार्यकर्ता यही पौष भित्र महाधिवेशन हुने ढुक्कमा रहेको संस्थापन इतर पक्षले भन्दै आएका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापा भन्दछन्– ‘विशेष महाधिवेशनको माग गर्दा पार्टी नेतृत्वले हुँदैन भनेर दादागिरी गर्न मिल्दैन । पार्टी विधानले चल्नु पर्दछ । विधान अनुसार पौषभित्र नियमित विधानको धारा १७ अनुसार पौषभित्रै विशेष महाधिवेशन हुनैपर्छ । हामी अपेक्षा गर्छौ पार्टीका जिम्मेवार नेताहरुले विधानको पालना गर्नु हुन्छ । उहाँहरुले अर्को बैठक राखेर विशेष महाधिवेशन बोलाउनुभयो भने कांग्रेसका लागि सबैभन्दा उपयुक्त हुने र नेताले विधानको पालना गर्नुभएन भने त्यसलाई मैले महामन्त्री भएको हैसियतमा विशेष महाधिवेशन गराउछु ।’
यता पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिले सभापतिको म्याद जेठ मसान्तसम्म थपेर पार्टीको बहुमतले महाधिवेशन मिति अर्को सालमा गर्ने निर्णय गराएको छ । यसअघि पौषमा नियमित महाधिवेशन गर्ने गरी माघ मसान्तसम्मका लागि केन्द्रीय समितिको म्याद थपिएको थियो । तर महाधिवेशन नै अर्को साल धकेलिएपछि केन्द्रीय समितिको म्याद पनि थपिएको छ । कांग्रेस सभापति देउवा र महामन्त्री शर्माले पार्टी फुट्न नदिने भने पनि आन्तरिक विवादले पार्टी फुट्ने सम्भावना पनि त्यतिकै छ । पार्टी जोगाउन संस्थापन पक्ष वा इतर पक्षले लिएको आआफ्नोे अडानबाट दुईमध्ये एकले अडान छोड्नै पर्दछ । अडान छोडेपछि मात्र महाधिवेशन अर्को वर्ष वा यही पौष २६ गते देखि हुने टुंगो लाग्नेछ ।
यता केन्द्रीय कार्य सम्पादन र केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षकै बहुमत पुग्ने हुँदा कांग्रेस महाधिवेशन संस्थापन पक्षको नयाँ कार्यतालिका अनुसार नै १५औं महाधिवेशन हुने देखिन्छ । यता महामन्त्री थापाले सञ्चारकर्मीहरुको जिज्ञासामा तोकेकै समयभित्र विशेष महाधिवेशन हुने र त्यसका लागि आफु र प्रतिनिधिहरु पछि नहट्ने बताए ।








