काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शमर्मा ओलीले ठग र लुसिफरहरुले युवाहरुलाई देशविरुद्ध उकास्दै लगेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित ४२औं पिस्कर सहित स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो आरोप लगाएका हुन् । वर्तमान सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै ओलीले सहकारीबाट ठगिएको सबै रकम महान्यायधिवक्ताको कार्यालयले तिरिदिने हो रु भन्दै प्रश्न समेत गरे । उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएकाले यहाँ सरकार सञ्चालनको साँचो नेपालीकै हातमा हुनुपर्ने बताए । उनले भने ‘नेपालमा नेपालीको सरकार हुनु पर्दछ । विदेशीको आदेश तालमेल गर्ने विदेशीको पपेट सरकार होइन ।’
अहिले नेपालीपन र राष्ट्रियताका पक्षमा उभिनेहरुको मनोबल गिराउन र आवाज दबाउन योजनाबद्ध प्रहार भइरहेको ओलीको दाबी छ । अध्यक्ष ओलीले भने ‘नेपालीको सरकार हुनुपर्छ भन्नेको मनोबल टुटाउन व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैतिर आगो लगाई मुलुकलाई खरानी बनाउँदै मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई सुनियोजित रुपमा ध्वस्त पारेर नेपाललाई पूर्ण रुपमा परनिर्भर बनाउने खेल भइरहेको छ । यो हुनु हुँदैन ।’
विदेशीको इशारामा चल्ने सरकारले विधि र कानूनलाई पनि आफ्नो स्वार्थ अनुसार प्रयोग गरेको ओलीको जिकिर छ । उनले रवि लामिछाने विरुद्ध दायर सहकारी ठगी संगठित अपराध र सम्पत्ति सुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले अघि बढाएको प्रक्रियातर्फ संकेत गर्दै ‘नाटकमञ्चन’ हुन लागेको बताए । हिजो बिनाकारण मुद्दा लगाउने, आज फिर्ता लिएर वा संशोधन गरेर चुनावमा हिरो बनाउन खोज्ने रु ओलीले प्रश्न गरे । मान्छेलाई अलमल्याउन यस्तो नाटक मञ्चन भइरहेको ओलीको भनाई छ ।









