२०६१ सालसम्म तोलाको करिब १३ हजारमा पाइने सुन २०८२ सालमा आइपुग्दा प्रति तोला ३ लाख रुपैयाँ नाघि सकेको छ । सुनको मुल्य यसरी आकाशिएपछि निम्न वर्गको लागि त परकै कुरा मध्यम वर्गीय र धनाढ्य वर्गलाई सुन खरिद गर्न हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा सुनका गरगहना व्यवसायीले सुनका गहना व्यवसाय गर्न गाह्रो पर्दै गएको छ । सुनको मुल्य यसरी आकाशिएपछि उपभोक्तामा क्रय शक्ति नै ह्रास भएर आउँछ । अनि केको व्यापार गर्नु ? नेपालमा धनाढ्य वर्गको संख्या थोरै र मध्यम तथा गरिब वर्गको संख्या धेरै भएको देशमा व्यवसाय चल्दैन । त्यसैले अब सुन व्यवसायीले विकल्प खोज्नैपर्ने बेला आएको छ ।
विवाह, ब्रतबन्ध तथा अन्य सामाजिक तथा मांगलिक कार्यमा ठूलो महत्व सुनको हुने गरे पनि यो अस्वभाविक रुपमा बढेको वृद्धिले अधिकांश नेपालीको क्रय शक्तिले भ्याउन छोडेको छ । फलस्वरुप अब सुनैबिनै मांगलिक कार्य सम्पन्न गर्नुपर्ने बाध्यता भईसकेको छ । यता यस्तो बाध्यता भएको छ भने उता सुनका गरगहना बनाउने कालिगढ बेरोजगारी देखिएका र गहना पसल सुनसान भएको देखिन्छ । माघ महिना भनेको विवाहको लगन भएको महिना हो । यति बेला गहना पसल भरिभराउ हुनुपर्नेमा सुनसान देखिरहेको छ । यस्तो परिस्थितिमा सुनलाई महत्व दिने र सुन बिना विवाह नै नहुने बाध्यतालाई अन्त्य गरिनु पर्दछ । वास्तवमा सुन नभई नहुने वस्तु पनि होइन । न त कुनै औषधी विशेष नै हो । सुन भनेको सम्पत्तिको तुजुक देखाउने मात्रै हो । त्यसैले सुनलाई बढी महत्व नदिऔं । महत्व नदिए पछि मूल्य घटोस् वा बढोस् मतलब हुँदैन ।
किन आकाशियो त सुनको मूल्य ?
नेपालमा यसरी सुनको मूल्य आकाशिनुमा विश्वका शक्तिशाली देशहरुबीचको तनाव हुनु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउँदै लगेका कारण सुनको मूल्य आकाशिएको विज्ञहरु बताउँछन् । अमेरिकी अर्थतन्त्रमा समस्या आएका कारण सुनको मूल्य बढेको विज्ञहरुको तर्क छ । मध्यपूर्व र युक्रेन–रुस युद्धका कारण लगानी कर्ताहरु सुरक्षित लगानीका रुपमा सुन तर्फ आकर्षित भएका छन् । शक्ति राष्ट्रका केन्द्रीय बैंकहरुले आफ्नो विदेशी मुद्रा सञ्चितिमा सुनको मात्रा बढाउँदै लगेका कारण पनि सुनको मूल्य बढेको हुन सक्ने विज्ञहरुको धारणा छ ।









