सम्पादकीय
जेनजी सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन हुनफागुन २१ आउन आजका मितिले करिब ३७ दिन बाँकी छ । विभिन्न चुनौतिका बाबजुद पनि कार्की सरकारले चुनाव सम्पन्न गराएरै छोड्न गरेको हिम्मतको सराहना गर्दै सही व्यक्तिलाई छानेर प्रतिनिधि सभामा पुर्याउने जिम्मा हाम्रो काँधमा आई परेको छ । त्यसैले कसैको सिमित आर्थिक लाभ, लोभ, धमास र बहकाउमा लागेर होइन, आफ्नै स्वविवेक प्रयोग गरेर सहि व्यक्तिलाई मतदान गरौं । जसले मुलुकमा सुशासन ल्याओस् । राम्रालाई होइन, हाम्रालाई मतदान गर्दा देशले यो अवस्था भोग्नु परेको र आफुहरुले दुःख पाइरहेको तितो
अनुभव हामीले गरिरहेकै छौं । त्यसैले यस्तो अवस्था अब फेरी नदोहोर्याआंै । अरु कसैका लागि नभएर हाम्रो लागि हो र राम्रो व्यक्ति छान्ने अधिकार पनि हाम्रै हातमा छ ।
जति जति निर्वाचन मिति नजिकिदै छ, त्यति नै हामी सामु भोट माग्नेको भिड बाक्लिदै जान थालेको छ । त्यो भीडमा विगतमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने र देशलाई जलाएर खरानी बनाउनेका मतियार पनि रहेका हुन सक्छन् । त्यस्ता व्यक्तिको सकेसम्म पहिचान गरी भोट होइन चोट दिने तर्फ हामीले सोच्न सक्नु पर्दछ । तब मात्र प्रतिनिधि सभामा सहि व्यक्ति पुग्न सक्छ । जसका जनमुखी र पत्यारीला चुनावी एजेण्डा छन् र पूर्व कार्यकाल स्वच्छ छ त्यस्ता व्यक्तिहरुलाई मात्र मत दिनु पर्छ । जसले आर्थिक लोभ देखाउछ वा बाँड्छ र धम्क्याउछ त्यस्ता व्यक्तिले चुनाव जिते भने उनीहरुबाट कुनै काम हुँदैन भनेर हामीले बुझ्नु पर्दछ । किनकी विगतका निर्वाचनमा पनि यस्ता क्रियाकलाप नभएका होइनन् । यस्तै क्रियाकलापबाट हामीले पाठ सिक्न जरुरी भएको छ । नत्र विगतकै अवस्था दोहोरिन्छ । यसमा कुनै शंका छैन ।
मुलुकमा कुनै एउटा राम्रो दलको बहुमतमा सरकार नबनेसम्म मुलुक विकासबाट टाढै रहन्छ । धरै दलको मिलेमतोमा सरकार बन्दा विकासले गति लिएको छ कि छैन, त्यो हाम्रा सामु प्रष्ट छ । त्यसैले आगामी निर्वाचनमा कुनै एउटा दलका बहुमतमा सरकार बन्ने गरी मतदान गरौं । त्यस दलमा ठूला दल या साना दल जो सुकै पनि पर्न सक्छन् ।
जेनजी आन्दोलनले ल्याउन चाहेको परिवर्तन पुरानै ढर्राको निर्वाचन शैली र मतदान शैलीले पुरा गर्न सक्दैन । अलिक फरक ढंगको सोच राखी मतदान गर्नुपर्ने देखिन्छ । यसका लागि युवा पिढीकै नेता छनौट हुनु आवश्यक छ । अहिले पटक पटक सरकारको नेतृत्व गरेका र संसद भइसकेका व्यक्तिहरुले पनि उम्मेदवारी दिएको देखिन्छ । यसले गर्दा विगतमा झै यस पटक पनि अधिकांश पुरानै नेता दोहोरिन सक्ने सम्भावना छ । यदी यसो भए खासै परिवर्तन नआउने र २०८४ को निर्वाचन २०८२ मा सार्ने काम मात्रै हुनेछ । परिवर्तनको चाहना के हो त्यसलाई राम्रोसँग बुझेर मतदान गरौं । त्यसैमा सम्पूर्ण नेपालीको हित हुनेछ ।









