१६ माघ, सिन्धुपाल्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै सिन्धुपाल्चोक–१ को माहोल तातेको छ । उम्मेदवारहरू आन्तरिक छलफल तथा मतदाता भेटघाटमा सक्रिय भएका छन् ।
गठबन्धन बिना हुन लागेको यस निर्वाचनमा मतदाताको विशेष चासो देखिन्छ । यो क्षेत्रमा नेकपाबाट माधव सापकोटा, नेकपा एमालेबाट सरेश नेपाल, नेपाली कांग्रेसबाट जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राममणि न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् ।
१५ दलका उम्मेदवारसँगै तीन जना स्वतन्त्र उम्मेदवार पनि मैदनमा उत्रिएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक— १ बाट नेकपाका सापकोटाले एमालेका नेपाललाई ३ हजार ३५६ मतान्तरले पराजित गरेका थिए । नेपालले २७ हजार १८ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रका प्रभावशाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत चुनावी दौडबाट बाहिरिएका छन् । बस्नेत गत निर्वाचनमा क्षेत्र परिवर्तन गरी सिन्धुपाल्चोक(२ बाट निर्वाचित भएका थिए ।
उम्मेदवारबीच कडा रस्साकस्सीः
तीन वर्षको अवधिमा सिन्धुपाल्चोक–१ को राजनीतिक समीकरणमा व्यापक परिवर्तन आएको छ । यसपटक कुनै पनि दलबीच गठबन्धन छैन, जसका कारण चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
यो क्षेत्रमा पुराना तथा नयाँ उम्मेदवारबीच रस्साकस्सी चलेको छ । नेकपा उम्मेदवार सापकोटा बिरासत कायम गर्ने लक्ष्यका साथ अघि बढेका छन् भने अन्य उम्मेदवार पनि परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मतदातासमक्ष पेस भइरहेका छन् ।
जनयुद्धको पृष्ठभूमिबाट आएका सापकोटा विद्यार्थी राजनीतिमा तार्किक वक्ताका रूपमा परिचित छन् । ३३ महिना सांसद हुँदा उनले उठाएका सिन्धुपाल्चोकका विषय, तातोपानी नाका खोल्न, जुरे पहिरो प्रभावितको पैसा बाँड्न खेलेको भूमिका, बाढी(पहिरोमा जनतामाझ पुगेर गरेको सहयोग त छँदैछ, संसद्मार्फत उनले निर्माण गरेको राष्ट्रिय छवि उत्तिकै मजबुत छ ।
उनी असन्तुष्ट एमाले कार्यकर्ता र देउवा पक्षीय कांग्रेस मतदातालाई आफ्नो पक्षमा ल्याउने प्रयासमा छन् ।
यता, कांग्रेसबाट उम्मेदवार बनेका जंगबहादुर लामा ग्रामीण सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित मैदानमा छन् । यद्यपि, कांग्रेस भित्रकै आन्तरिक मतभेद उनका लागि चुनौतीका रूपमा देखिएको छ ।
कांग्रेस उम्मेदवार लामा असन्तुष्ट पक्षलाई मिलाउँदै पार्टीको परम्परागत मत जोगाउने योजनामा केन्द्रित छन् ।
उता, एमाले उम्मेदवार सरेश नेपाल यसपटक अघिल्लो हारको बदला लिने तयारीमा छन् । लामो समयदेखि राजनीतिमा सक्रिय नेपाल पूर्व प्रदेशसभा सदस्य तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीसमेत भइसकेका नेता हुन्
तर, पार्टी भित्र पछिल्ला दिनमा देखिएको असन्तुष्टिले उनको चुनावी यात्रालाई कठिन बनाइरहेको छ । पार्टीमा देखिएको असन्तुष्टि व्यवस्थापन गर्न उनलाई चुनौती देखिएको छ ।
पार्टी सञ्चालनमा संलग्न केही व्यक्तिहरूले जीवनभर बिर्सन नसकिने चोट दिएको आरोप लगाउँदै बाह्रबीसे नगरपालिकाका पूर्वमेयर निम्फुन्जो शेर्पाले निर्वाचनको मुखमै एमाले परित्याग गरेका छन् ।
शेर्पाले पार्टी परित्याग गरेको एक सातासमेत नबित्दै वडा नम्बर घुम्थाङका निर्वाचित वडाध्यक्ष निमा शेर्पाले पनि एमाले बाह्रबीसे नगर सचिव पदबाट राजीनामा दिएको औपचारिक घोषणा गरेका छन् ।
एमालेमा पार्टी केन्द्रले सुरवातमा युवा व्यवसायी आङ्दोर्जे शेर्पालाई उम्मेदवारको रूपमा अघि सारेको थियो । तर त्यसको २४ घण्टा नबित्दै जिल्ला पार्टी अध्यक्ष होमनारायण श्रेष्ठलाई टिकट प्रदान गरियो । अन्तिम समयमा सरेश नेपालले उम्मेदवारी दर्ता गराए ।
हाल उनी पार्टी भित्रको पंक्ति सुदृढ बनाउने र नेपाली कांग्रेसतर्फका मत आकर्षित गर्ने रणनीतिमा सक्रिय देखिएका छन् ।
नेकपा एमालेमा लामो समयदेखि सक्रिय रहेका भरत पराजुली अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट यस क्षेत्रका उम्मेदवार बनेका छन् । रास्वपा उम्मेदवार पराजुली पेसाले जलविद्युत् व्यवसायी हुन् ।
जिल्लाको उत्तरी भेगमा उनको आफ्नै हाइड्रोपावर कम्पनी सञ्चालनमा छ । एमाले पृष्ठभूमिका पराजुलीको रास्वपामा प्रवेशसँगै एमाले नेता जेपी सिलवालदेखि लिएर पराजुलीकै कारण पहिले एमाले भएका र अहिले रास्वपा गएकाको नामावली लामो बन्दै गएकोले यस क्षेत्रमा रास्वपाको राजनीतिक ग्राफ बढ्दो क्रममा देखिएको छ ।
यद्यपि, विद्युत् कम्पनी निर्माण तथा सञ्चालनका क्रममा स्थानीयको माग पर्याप्त रूपमा सम्बोधन नगरेको आरोप उनीमाथि लाग्दै आएको छ । यही कारण यो निर्वाचन परीक्षामा उनले कस्तो जनमत प्राप्त गर्लान् भन्ने विषय चासोको केन्द्र बनेको छ ।








