सम्पादकीय
मुलुकमा अहिले मोबाइल, इन्टरनेट, स्मार्टफोनमार्फत विभिन्न खाले सामाजिक सञ्जाल, युट्युब, फेसबुक, ट्वीटर लगायत मानिसका अभिन्न अंग जस्तै भएका छन् । केटाकेटी देखि बुढापाकासम्मको लोकप्रिय मनोरञ्जन तथा ज्ञानवद्र्धक साधन भएको छ । जमाना अनुसार सही रुपमा प्रयोग गर्दा यस्ता सञ्जाल लाभदायक भए पनि कुनै व्यक्तिप्रति लक्षित गर्दै यसको दुरुपयोग गरियो भने यो कुनै बेला अभिषाप पनि भइदिन्छ । मिथ्या र भ्रामक सामग्री पोष्ट गर्दा व्यक्तिले आत्माहत्या समेत गर्नुपर्ने अवस्था आउछ । सही व्यक्ति पनि असही जस्तो हुने वा पारीने र गलत व्यक्तिलाई सही बनाउने यो मिथ्या सूचनामा पूर्ण रुपमा रोक लगाउन आवश्यक छ ।
२०८४ मा हुनुपर्ने प्रतिनिधि सभा निर्वाचन भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण दुई वर्षअघि नै अर्थात २०८२÷११÷२१ मा हुँदैछ । यो मिति आउन अब २३ दिन मात्र बाँकी छ । तर सामाजिक सञ्जालमा उम्मेदवार लक्षित गर्दै विभिन्न खाले मिथ्या सूचनाको बाढी बग्न थालेको छ । यो बाढीले गलत उम्मेदवारलाई सहि र सही उम्मेदवारलाई गलत भएको देखाइरहेको छ । अहिले मतदातामा सामाजिक सञ्जालले पार्नुसम्मको प्रभाव पारीरहेको छ । जसमा कुनै सकारात्मक प्रभाव र कुनै नकारात्मक प्रभाव छन् । मतदाताहरु उम्मेदवारहरुको अनुहार एजेण्डा र पार्टी भन्दा पनि सामाजिक सञ्जालमा लाइक र कमेन्ट हेरेर भोट दिने मनस्थितिमा पुगेका छन् । यसले सामाजिक सञ्जालमा पहुँच राख्न सक्ने गलत व्यक्तिनै रहेछ भने पनि उसले चुनाव जित्ने र वास्तविक सही मान्छेले हार व्यहोर्नुपर्ने अवस्था पनि आउन सक्छ । सामाजिक सञ्जालमा आएको समाचार झट्ट हेर्दा पत्यारीलो देखिए पनि सबै पत्यारीलो र भरपर्दो हुँदैनन् ।
निर्वाचन आयोगले निर्वाचन लक्षित गरेर निर्वाचन बारे कसैले मिथ्या सूचना फैलाउने काम गरे उसलाई रु २ लाखसम्म जरिवाना र ३ वर्ष कैद सजाय हुने व्यवस्था गरेको भए पनि यो सजाय सँधै र सबैका लागि हुन जरुरी छ । आयोगले निर्वाचन एने, कसुर तथा सजाय० २०७३ को दफा २२ मा निर्वाचनका बेला उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले राजनीतिक दल वा उम्मेदवारको नीति तथा कार्यक्रमका सम्बन्धमा आँच पुर्याउनेलाई यो ऐनले कारवाही गरे जस्तै सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरुलाई सँधे काबुमा ल्याउन कडा सजाय गर्ने ऐन ल्याउन जरुरी छ ।
नेपाल तथ्य जाँचका अनुसार कुनै पनि सामग्री मिथ्या सूचना हो की होइन भनेर चिन्न वा पहिचान गर्न सजिलो छैन । त्यसैले सर्वसाधारणले सामाजिक सञ्जालमा आउका सूचना मिथ्या नै भएका भए पनि वास्तविक नै हो भन्ने सोच्ने गर्दछन् । त्यसैले यो सूचना कस्तो खालको हो भनेर आम पाठकलाई चिनाउनका लागि तथ्य जाँचले विशेष पहल कदमी गर्नुपर्दछ ।








