काठमाडौं । विशेष महाधिवेशनबाट कांग्रेसको सभापति भएका गगन थापा र उपसभापति भएका विश्वप्रकाश शर्मा निर्वाचनको माहोल कांग्रेसको पक्षमा पार्न देशव्यापी दौडाहमा जाने भएका छन् । निर्वाचन आयोगले प्रचार प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नै थापा र शर्मा सातै प्रदेशमा पुग्ने भएका छन् । पार्टीका प्रदेश, जिल्ला सभापति, उम्मेदवार र नेता कार्यकर्तासँग छलफल गर्न सभापति थापा र उपसभापति शर्मा फागुन ४ गतेभित्र सातै प्रदेशमा पुग्ने उपसभापति पुष्पा भुषालले जानकारी दिइन् । देश दौडाहामा थापा र शर्माले पार्टीका उम्मेदवार र नेता कार्यकर्तासँग संवाद गर्ने र पार्टीको अवस्था पहिचान गर्ने उनले बताइन् । सभापति थापा यसअघि मधेश पुगिसकेका छन् । सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थापा माघ १२ गते मधेश झरेका थिए ।
त्यसो त कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ, बहुमत नआएपनि ठूलो दल बन्ने योजनामा कांग्रेस रहेको छ । त्यसैले कांग्रेसलाई जसरी भए पनि जिताउन सभापति थापा सक्रिय भएर लागेको अवस्था छ । कांग्रेसको सबै ठाउँमा चुनावी सभा गर्ने योजना पनि रहेको छ । कांग्रेसले फागुन ७ गतेबाट चुनावी सभा थाल्ने भएको
छ । कांग्रेसले पहिलो चुनाव सभा जनकपुरमा हुने कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले बताइन् । सभालाई सभापति थापा र उपसभापति शर्मालगायतका नेताहरुले सम्बोधन गर्नुहुने छ ।









