भोजपुर प्रतिनिधि
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि भोजपुर जिल्ला भरिका मतदानस्थलहरुको सुरक्षा स्थितीबारे अनुसन्धान गरी भोजपुरलाई सुरक्षाको दृष्टिकोणले ३ भागमा वर्गीकरण गरिएको छ । जसमा पहिलो अति संवेदनशील, दोस्रो संवेदनशील र तेस्रो सामान्य रहेका छन् । प्रमुख जिल्ला अधिकारी राजेन्द्र पौडेलका अनुसार ८१ वटा मतदान स्थलमध्ये ३३ वटा मतदान स्थाललाई अति संवेदनशील, २० वटालाई संवेदनशील र ३४ वटा मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ ।
त्यस्तै जिल्ला निर्वाचन कार्यालय भोजपुरले विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार यातायात लगायतका विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरेको र मतदान कार्यक्रमलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन र चारवटै सुरक्षा योजना बनाएर काम गरिरहेको जनाएको छ ।
भोजपुरमा १२ दलका १२ जनाले उम्मेदवारी दर्ता गराई चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये नेकपा एमालेबाट शेरधन राई, नेपाली कांग्रेसबाट बालकृष्ण थापा, नेपाली कम्युनिष्ट पार्टीबाट अजम्बर राई, नेकपा माओवादीका देवराज राई, जनता समाजवादीका गोपाल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, नेपाल किसान मजदुर पार्टीका राजाराम वासी, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्र प्रसाद राई र आम जनता पार्टीका तर्फबाट युवराज थापा रहेका छन् ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको भोजपुरमा ८७ मतदान स्थल र अस्थायी सहित १६१ वटा मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार यसपटक भोजपुरमा एक लाख २५ हजार ७६६ जना मतदाताले आफ्नो अमुल्य मत दिँदैछन् ।









