सम्पादकज्यू
कास्की जिल्ला अन्तरगतको पोखरा महानगरपालिकाको बजार एरियामा फोहोर व्यवस्थापन नहुँदा सुन्दर नगरी पोखरामा दुर्गन्ध फैलिएको छ । बजारका स्थानीयहरु फोहोरका कारण हैजा फैलिने हो कि भन्ने त्रासमा छन् । यतिका दिनसम्म बजारमा फोहोर थुप्रिइरहँदा महानगर के हेरेर बसिरहेको छ ? थुप्रिएको फोहोर र दुर्गन्धका कारण पर्यटकको नजरमा पोखरा प्रशासनको मात्र इज्जत गएको छैन, नेपालकै बेइज्जती हुन लागि सकेको छ । यो फोहोरले विदेशी पर्यटकलाई कस्तो छाप पर्ला र आफ्नो देशमा फर्किदा कस्तो सन्देश लिएर फर्किएलान् भन्ने चिन्ता हामी लगायत आम पोखरेलीलाई पर्नु स्वभाविकै हो । त्यति मात्रै होइन निर्वाचन नजिकिन लाग्दा र बजारभरी फोहोरको थुप्रो लाग्दा महानगरको आलोचना समेत भइरहेको छ । घर घरमा थुप्रिएको फोहोरका कारण बजारबासीहरु आतिन थालेका छन् । त्यसकारण जति सक्दो चाँडो फोहोरको व्यवस्थापन गर्न र महानगरलाई पहिलेकै अवस्थामा राख्न म तपाईको पत्रिका मार्फत स्थानीय प्रमुखहरुलाई आग्रह गर्दछु ।
राजु गुरुङ
चिप्लेढुंगा, पोखरा ।









