सम्पादकीय
प्रतिनिधि सभाको निर्वाचन आउन अब नौ दिन मात्र बाँकी छ । राजनीतिक दलका उम्मेदवारहरु ठूला ठूला नारा÷चुनावी घोषणा पत्र लिएर घरघर, टोलटोल र मेलापातमा समेत भोट माग्न पुगिरहेका छन् । धेरै वटा राजनीतिक दलहरु भोट माग्न जाँदा मतदाताहरु पनि कसलाई भोट दिने भनेर अलमलमा परिरहेका छन् । दलका कार्यकर्ता बाहेक सबै अलमलिइएको अवस्था छ । घोषणा पत्र हेर्दा सबैका राम्रा छन् । तर सबै बतासे फुल जस्ता चुनाव जितेपछि कोही कार्यक्षेत्र फर्किएर नजाने प्रवृत्तिका कारण अहिले ग्रामीण क्षेत्रमा प्राय सुन्य जस्तै भएको छ । भएका क्षेत्रमा पनि केटाकेटी र वृद्धवृद्धा मात्रै गाउँमा छन् । बढ्दो रोजगारी र जमाना अनुसारको पूर्वाधार गाउँमा नहुँदा सबै विदेशिन र शहरतर्फ बसाई सर्न बाध्य छन् । स्वास्थ्य शिक्षा र रोजगारी नहुँदा दिनहुँ जस्तै गाउँ खाली भईरहेको र शहरमा चापाचाप बस्ती बढीरहेका कारण सर्वसाधारणलाई शहरमा टिक्न मुस्किल परिरहेको छ भने गाउँका उर्वर भूमिहरु सबै बाँझिएका छन् । यसैकारणले पनि खाद्य वस्तुमा समेत परनिर्भरता बढीरहेको छ ।
राजनीतिक दलहरुले ठूलाठूला विकास गर्ने नारा घन्काईरहँदा रित्तिएका गाउँ भर्ने प्राथमिकतामा कसैको नारा परेको छैनन् । अहिलेको प्रमुख प्राथमिकता भनेको गाउँमा न्यूनतम पूर्वाधार देखि उच्च पूर्वाधार खडा गर्नु र शहर पसेका बासिन्दालाई आफ्नो गाउँ फर्किने वातावरण बनाउनु हो । यस्तो वातावरण नबनेसम्म विकास असम्भव छ । नेपाल जस्तो कृषिप्रधान देशमा खेतियोग्य उर्वर भूमि र पशुपालनका लागि उपयुक्त हावापानी भएका९नागी० खर्कहरु खाली रहुन्जेल विकास सम्भव छैन । शहरी क्षेत्रमा भएका पूर्वाधारलाई गुणस्तरता दिनु भनेको जनघनत्वको चाप बढाउनु मात्र हो । त्यसैले पहिले गाउँ भर्ने अनि मात्र शहरको विकास गर्ने हो ।
ग्रामीण क्षेत्रका जनप्रतिनिधिले आफ्नो गाउँमा विकासका लहरको जग बसाउने र शहरका जनप्रतिनिधिहरुले त्यसमा इटा थप्ने काम गरौं । किनकी शहरमाभन्दा गाउँमा पूर्वाधार निर्माण गर्न जरुरी छ । शहरका जनप्रतिनिधिहरुले समेत गाउँको विकासमा ध्यान दिनुपर्ने बेला भएको छ । गाउँमा बस्न योग्य विकासमा ध्यान दिनुपर्ने बेला भएको छ । गाउँमा बस्न योग्य वातावरण बनाएर गाउँबाट आएकालाई गाउँनै फर्काउने र शहरको जनचाप घटाउनु पनि ठूलो प्रगति मान्नु पर्दछ । शहरका जनप्रतिनिधि शहरमै मात्र सिमित हुने र गाउँका जनप्रतिनिधिले पनि शहरनै ताक्ने हो भने ग्रामीण क्षेत्र सँधै छायामा पर्ने र अझै शहरीकरण बढ्ने निश्चित छ । त्यसैले विकास गर्ने हो भने रित्तिएका ग्रामीण क्षेत्र पहिले भरौं । अनि मात्र विकास सम्भव होला ।







