मत माग्न आउनेलाई भरपाई गराऔं

निर्वाचन आउन अब ९ दिन बाँकी छ । मतदाता भोट माग्न आउन पाउने दिन ६ दिन बाँकी छ । निर्वाचन आयोगले १८ गतेसम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने समय सिमा तोकेर २१ गते बेलुकासम्म मौन बस्ने र आफुले चाहेको उम्मेदवारलाई गोप्य रुपमा मत दिनु भनेको छ । सोही अनुसार मत माग्न आउने उम्मेदवारलाई ‘घोषणा पत्रमा भएका बुँदा अनुसारका कामहरु गर्छु, काम गर्न नसके पदबाट राजिनामा दिएर तपाईहरुका सामु कान समाएर उठबस गर्छु’ भन्ने शैलीको भरपाई गराउने र त्यस्तो भरपाईमा सहि गर्नेलाई मात्र भोट दिने बेला आएको छ । यो काम कसैले कसैलाई मानहानी गर्न, मजाक गर्न ल्याइएको होइन । दलहरुले विगतका निर्वाचनमा पटक पटक जनतालाई झुक्याएको कामले ल्याएको बाध्यतात्मक परिस्थिति हो । यसो नगरे दलका उम्मेदवारहरुले विगतमाझैं वर्षौ वर्षपछिसम्म यसरी नै ढाँट्दै जाने छन् । तर अब यो पटकदेखि उम्मेदवारलाई त्यसो गर्न छुट दिनु हुँदैन ।
दलहरुले यसपाली पनि महत्वकांक्षी घोषणा पत्र लिएर मतदाताको घरदैलो गरिरहेका छन् । सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गरिरहेका छन् । जे सुकै गरुन त्यो उनीहरुले पाएको अधिकारको कुरा हो । तर मतदाताले भने निकै गहन रुपमा सोचविचार गरेर मात्र आफ्नो अमुल्य मत दिनुपर्ने र त्यो मतले सबै नेपालीको भाग्य रेखा कोर्नुपर्ने आवश्यकता मुलुकलाई छ । कसैको आर्थिक प्रलोभन र डर धाकधम्कीमा परेर मत दिइयो भने त्यो सहि ठाउँमा परेन भनेर सोच्नुपर्ने बेला आएको छ । जुन उम्मेदवार आफ्नो कार्यक्षेत्र नै प्रवेश गर्दैन, मत दिने मतदाता नै चिन्दैन भने त्यस्ता व्यक्तिलाई मत दिनु कुनै औचित्यता देखिदैन । केवल आफ्नै गोडामा आफैंले बन्चरो हान्नु जस्तो मात्र हुनेछ । त्यसैले आफ्नो घोषणा पत्र कार्यान्वयन गर्छु भनेर जसले भरपाई गर्दछ उसलाई मात्र भोट दिने निर्णय गरौं । यो निर्णयले सहि व्यक्ति संसदमा पुग्ने वातावरण बन्न सक्छ ।

LEAVE A REPLY