काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ । पूर्वराजाले निर्वाचन अघि नै राष्ट्रिय सहमति हुनुपर्ने धारणा सार्वजनिक गर्नुभयो । पूर्वराजाको यस धारणालार्य राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपाले सान्दर्भिक भन्दै स्वागत गरे पनि अन्य प्रमुख दलले खासै महत्व दिएनन् । तर पूर्वराजाको यो समयमा आएको सान्दर्भिक मन्तव्यको राष्ट्रिय राजनीतिमा कति महत्व राख्छ, भविष्यमा कति प्रभाव पार्छ, त्यो देखिदै जाला ।
आगामी निर्वाचनले नेपालका सबै समस्याको समाधान गर्न नसक्ने पूर्वराजाको दावी छ । सबै पक्षबीच सहमति गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने उहाँको धारणा थियो । नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाक स्थितिमा रहेको भन्दै उहाँले वर्तमान अवस्थामा चुनावले मात्र समाधान ननिस्किने शाहको तर्क छ । निर्वाचन आउन भने अब केही दिन मात्रै बाँकी रहेको समयमा आएको पूर्व राजा शाहको वक्तव्यलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रजातन्त्रमा राज्यव्यवस्था र प्रत्रिया संवैधानिक मान्यता अनुरुप चल्नु उपयुक्त हो । प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रिया तर्फ जानु उपयुक्त हुनेछ, वक्तव्यमा उहाँले भन्नुभएको छ– ‘निर्वाचनपछि भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’
अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको भन्दै आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन मिलेर काम गरौं भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गतिदिन सकिने शाहको वक्तव्यमा उल्लेख छ । ‘वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाउँभन्ने सोचले होइन मिलेर काम गरौं भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ ।’ उहाँले भन्नुभएको छ– ‘प्रजातन्त्रमा जनता आफैं जागरुक बनेर समाज र राष्ट्र सेवाको सत्कर्ममा अग्रसर हुन पाउनुपर्ने हो तर कसैलाई खुशी पार्नुपर्ने अनि कसैबाट तोकिनुपर्ने बाध्यतात्मक व्यवस्थाको जञ्जिरमा बाँधिनुपरेको छ । देशको भू–बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकरात्मक परिणाम दिन सक्छ । आम जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शीर हुने व्यवस्थानै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउँछ ।
व्यवस्थाका असल पक्ष राखेर खराब पक्ष फ्याक्नुपर्ने शाहले बताउनुभयो । नेपालको धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परिक्षण र प्रशोधन गर्दै जानुपर्ने भनाई छ । कुनै व्यवस्था राम्रा र असपल पक्षहरु टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरु हुन्छन्, त्यस्तालाई फाल्नुपर्छ । त्यसैले विश्वका कयौ राष्ट्रहरु पहिले आफ्नो देश, पहिला आफ्नो जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन् ।’ उहाँले भन्नुभया– ‘हो हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परिक्षण र प्रशोधन गर्दे जानुपर्दछ । नेपाल एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणसँगै जनताको बदलिदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समयानुकुल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै जानुपर्ने आजको आवश्यकता हो । प्रजातन्त्रमा सबैथरी विचार, संस्कारको आदर हुनुपर्दछ, सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट र सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ ।’ भन्दै ७५औं प्रजातन्त्र दिवसको शुभकामना दिनुभयो ।








