पेट्रोलको मुल्य बढे पनि खुद्रा विक्रि मूल्य यथावत राख्ने निगमले गर्यो निर्णय

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। निगमले फागुन १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य फागुन १७ गते बिहान देखि लागू हुनेछ।
इण्डियन आयल कर्पोरेशन बाट फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ ०९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर १८ रुपैयाँ ५८ पैसा र हवाई इन्धनमा प्रति लिटर ५ रुपैयाँ ९८ पैसा वृद्धि भएको थियो। तर, उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले साविककै खुद्रा बिक्री मूल्य कायम गर्ने निर्णय गरेको जनाएको छ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको मूल्य पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १३९ रुपैयाँ ५० पैसा, १४१ रुपैयाँ र १४२ रुपैयाँ कायम गरिएको छ।
एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १९१० रुपैयाँ यथावत राखिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १२७ रुपैयाँ कायम छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलो लिटर ४९६६ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।

LEAVE A REPLY