झापा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले उत्सुकतापूर्वक हेरिरहेको झापा–५ मा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । नेपाली सेनाले आफ्नो शक्तिलाई हाई अलर्टमा राखेको छ । यहाँ सेनाले बख्तरबन्द गाडी प्रयोगमा ल्याएको छ । हेलिप्याड निर्माण र हवाई गस्ती सुरु गरिएको छ । भोलि हुने प्रतिनिधिसभा चुनावलाई भयरहित, शान्तिपूर्ण, मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्लास्थित सुरक्षा निकायले जनाएका छन् । झापा–५ मा सुरक्षा संवेदनशीलता देखिएपछि अन्य ३ वटै सुरक्षा निकायको समन्वयमा नेपाली सेना अत्यन्त चनाखो भएर आवश्यक कारबाहीमा उत्रिएको छ ।
मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये इपिसेन्टर बनेको झापा–५ को सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न नेपाली सेनाले अगुवाइ गरिरहेको छ । सेना अहिले गस्तीमा उत्रिएको छ । सँगै हवाई गस्ती पनि सुरु गरिएको छ । नेपाली सेनाका उच्च नेतृत्वसहित जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीको टोलीले झापा–५ को स्थलगत अनुगमनसमेत गरिसकेको छ ।
झापा–५ मा सेनाले के गरिरहेको छ ?
नेपाली सेनाले दमक नगरपालिका–८ मा रहेको दमक सभागृहमा कम्पनी अपरेटिङ बेस सिओबी खडा गरेको छ । सेनाले करिब १ महिनादेखि माघ २१ गतेदेखि नै झापा–५ मा निर्वाचन लक्षित सुरक्षा गर्दै आएको छ । अरिदमन गण चारआलीका सेनानी सुरेन्द्र योगीले त्यस सिओबीको कमान्ड सम्हालेका छन् । सो कमान्डअन्तर्गत ४ वटा सेमु अर्थात प्लाटुन अपरेटिङ बेस पिओबी छन् । दमक, गौरादह, तोपगाछी र गौरीगन्जमा पिओबी राखिएको हो । हाल सिओबीमा क्षेत्र नम्बर ५ को सुरक्षाका लागि २५० जनाभन्दा बढी सेनाको फौज खटिएको छ । प्रत्येक पिओबीमा लप्टनको कमान्डमा ३५ जनाको जनशक्ति छ ।
दमक नगरपालिका–४ मा रहेको पिओबीले दमकका १ देखि १० सबै वडासम्मको सुरक्षा गरिरहेको छ । गौरादह नगरपालिका–५ मा रहेको पिओबीले गौरादह–१ देखि ७ सम्म, कमल गाउँपालिका–३ तोपगाछीमा रहेको पिओबीले कमल–१ देखि ७ सम्म र गौरीगन्ज बजारमा रहेको पिओबीले गौरादह–८ तथा गौरीगन्ज ३, ४, ५ र ६ नम्बर वडाको सुरक्षा गर्दै आएको छ ।
झापा–५ मा नेपाली सेनाले ४ वटा बख्तरबन्द गाडी ल्याएको छ । जसमा विशेष फौजको टोली परिचालित छ । एक उच्च सैनिक अधिकारीका अनुसार १ महिना अगाडिदेखि नै भेहिकल पेट्रोलिङ, मेकानाइज्ड भेहिकल पेट्रोलिङ, डे–नाइट पेट्रोलिङ, फ्ल्याग मार्चजस्ता सैनिक कारबाही गर्दै आएको छ । विभिन्न पेट्रोलिङ भइरहेको ती सैनिक अधिकारीले जानकारी दिए ।
हवाई गस्तीका लागि नेपाली सेनाले हेलिप्याड निर्माण गरी हवाई गस्ती गरिरहेको छ । दमक सभागृहमा रहेको सिओबीले हेलिप्याड निर्माण गरेको हो । करिब १५ कठ्ठा जमिनमा सो हेलिप्याड निर्माण गरिएको छ । स्थानीय तहसँग समन्वयमा सेनाले हेलिप्याड बनाएको जनाएको हो । हेलिप्याड प्रयोग गरी सेनाले झापा ५ मा पर्ने क्षेत्रमा हवाई रेकी तथा गस्ती गरिरहेको छ । अहिले नेपाली सेनाको एएलएच संकेत रहेको हेलिकप्टर सो हेलिप्याडमा छ । जहाँ सेनाको निर्वाचन सुरक्षा बेसमा छ । उक्त हेलिकोप्टर भोलि हुने चुनावको सुरक्षार्थ प्रयोग हुनेछ । सेनाको स्पेसल फोर्सले दमक बजार र झापा–५ मा पर्ने क्षेत्रमा हवाई रेकी तथा गस्ती गर्नेछ । हेलिप्याड व्यवस्थापन गर्न दमक–९ का वडाध्यक्ष कुबेर भट्टराईले सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।
दमकस्थित सिओबीको विभिन्न समयमा उच्च सैनिक अधिकारीहरूले निरीक्षण गरिसकेको ती सैनिक अधिकारीले बताए । उनका अनुसार पूर्वी पृतनाका पृतनापति, २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति, सैनिक हेडक्वार्टरका उपरथी, जिल्ला सुरक्षा समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारीलगायतले सिओबीको निरीक्षण गरेका हुन् । झापामा नेपाली सेनाका ४ वटा सिओबी र १६ वटा पिओबी परिचालित छन् । अन्य सिओबीले चारआली ब्यारेकको हेलिप्याड प्रयोग गरेका छन् । हरेक मतदान स्थलमा अन्य सुरक्षा निकायसँगको समन्वयमा तेस्रो घेरामा रहेर नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।
मतदान केन्द्रभित्र सेना प्रवेश गर्दैन । मतपेटिका ढुवानीमा सेनाले सुरक्षा दिनेछ । यद्यपि, मतदान केन्द्रभित्र सेना प्रवेश गर्नेछैन । सेनाले आफैँ मतपेटिका ढुवानी गरेर नलैजाने सेनाका ती अधिकारीले बताए । ‘निर्वाचनमा सेनाले कुनै पनि हस्तक्षेप गर्दैन र गर्न पनि दिँदैन,’ सेनाका ती अधिकारीले भने, ‘मतदान केन्द्रहरूबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्दा सेनाले मतपेटिका छुँदैन, स्कर्टिङ र पिकेटिङ मात्र गर्छ ।’
मतदानको समयमा बाहिरी घेरामा रहेर चौबिसै घन्टा सुरक्षा दिने सेनाले अन्तिम मत परिणाम घोषणा नहुँदासम्म सेनाले सुरक्षा गर्नेछ । निर्वाचन बिथोल्न खोज्ने वा मतदानका दिन कुनै पनि हस्तक्षेप गर्न खोज्नेलाई सुरक्षा कार्यविधिअनुसार कारबाही गर्न सेना तयारी अवस्थामा रहेको ती सैनिक अधिकारीले बताए । निर्वाचन सुरक्षाका लागि अनुमति पाइसकेकाले सेना पर्ख र हेरको अवस्थामा छ ।
अवस्था प्रतिकूल बने एक्सनमा उत्रिने उनको भनाइ छ । अहिले झापाको अवस्था सामान्य रहेको ती अधिकारीले बताए । सिओबीसहित ४ वटै पिओबीमा सेनाको बम डिस्पोजल टोली तैनाथ छ । सेनाका ती टोली जुनसुकै बेला खटिने तयारी अवस्थामा छन् । त्यस्तै निर्वाचनका बेला सेनाले झापा–५ का विद्यालयका विद्यार्थीका लागि माइन रिस्क एजुकेसन कक्षा सञ्चालन गरिसकेको छ । विष्फोटक पदार्थ बेवारिसे अवस्थामा फेला परे कसरी सुरक्षित रहने र तत्काल सुरक्षा निकायलाई खबर गर्ने भन्नेबारे विद्यार्थीलाई सचेत गराइएको ती सैनिक अधिकारीले बताए ।
झापा–५ मा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र छन् । ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य २ गरी १ लाख ६३ हजार ३७९ मतदाता रहेको यस क्षेत्रमा मतपेटिक गणनाका लागि निर्वाचन अधिकृतको कार्यालय रहेको दमकको अग्र्यानिक कृषि भवन निर्धारण गरिएको छ । मतगणनास्थलको तयारी भइरहेको छ । यस क्षेत्रमा २ स्वतन्त्रसहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यहाँ नेपाली कांग्रेसबाट मन्धरा चिमरिया पौडेल, नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीबाट समीर तामाङ लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि, भावी प्रधानमन्त्री घोषणा भएका नेकपा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको चुनावी रङका कारण यो क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय ध्यान तानिएको हो ।









