काठमाडौँः काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा रहेको मतदान केन्द्रमा एक सय पाँच वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले उत्साहका साथ आफ्नो मतदान अधिकार प्रयोग गर्दै सो केन्द्रमा पहिलो मतदान गरे।
ज्येष्ठ उमेरका बाबजुद पनि मतदानप्रति उनको उत्साह र प्रतिबद्धताले उपस्थित मतदाता तथा निर्वाचन कर्मचारीलाई समेत प्रेरित बनाएको छ।
मतदानपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै खड्काले मतदान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए।
उनले भने, “१०५ वर्षको उमेरमा पनि आज मतदान गर्न पाउँदा निकै खुसी लागेको छ। देशले योग्य, इमानदार र जनताको हितमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ।”
खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोध कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको स्थानीयवासी तथा सञ्चारकर्मी अनिता श्रेष्ठले बताइन्।
।








