यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई एक छत्र रुपमा कार्यादेश दिएको देखिएको छ । यो एक छत्र लहरले पुराना दलहरुलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा पु¥याएको छ । यो अवस्थाको सृजना अरु कसैले गराएको होइन । दलहरु आफैंले गराएका हुन् । पुराना दलहरु तत्कालिन माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले लगायतले पटक–पटक सरकारको नेतृत्व गरे । दुई तिहाई बहुमतको सरकार पनि बनाए । तर जनता खुशी पार्ने काम भने गर्न सकेनन् । आफ्नै दल र आफ्नो हितमा काम गर्न मात्र लालायीत भए । दलको हित र आफु निकटका बाहेक अरु सर्वसाधारण जनताको हितमा काम गर्ने तर्फ ध्यान केन्द्रीत गर्न सकेनन् । यसैको कारण हो व्यापक पराजय ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले लगायतले पटक पटक सरकारको नेतृत्व गरे । एक्ला एक्लै र गठबन्धन समेत गरेर बहुमतको सरकार पनि बनाए । त्यसअवधिमा पनि भागबण्डामा आन्तरिक कलह गरेर समय त्यसै खेर फाले । गुटबन्दी गरे, पार्टी फुटाउने सम्मका कामहरु भए । विकासका नाममा भ्रष्टाचार गरे । यसैलाई संस्थापन गर्दै लगे । जनतालाई ढाँटेर पटक पटक संसदमा पुगे तर चुनाव जितेर आएपछि अर्को चुनाव नआउदासम्म कार्यक्षेत्र फर्किएर गएनन् । भत्ताका सुविधा भोगी भए । तर जनअपेक्षाका काम गरेनन् । जनतालाई जे भन्दा पनि हुन्छ, जे गर्दा पनि हुन्छ । हामी भन्दा अरु कोही पनि राम्रा दल छैनन्, सबै हामी नै हौ भन्ने घमण्डा गरे । त्यसैको प्रतिफल हो, रास्वपामा आएको जनलहर र पाएको जनादेश ।
जनतालाई चाहिएको सुशासन र भ्रष्टाचारमुक्त देश हो तर त्यस्तो चाहना पुरा गर्न नसकेर भ्रष्टाचार उन्मुख भएपछि जनता चिन्तित बने । रास्वापाले सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको विश्वासीलो नारा र प्रतिबद्धता जाहेर गरेपछि के गर्दोरहेछ एक पटक हेरौ भनेर सबैले भोट दिँदा यो अवस्थाको सृजना भएको हो । त्यसैले तड्पिदै छाति पिटेर हार अस्वीकार गर्ने होइन, हार स्वीकार गर्दै आगामी ५ वर्षसम्म कमी, कमजोरी पहिल्याउँदै आफ्नो आचरण सुधार्नेतर्फ लाग्नु नै व्यक्ति र व्यक्ति सम्बन्धित पार्टीको हित हुने काम हुन्छ । पाँच वर्षमा आफु सुध्रिएर जान सक्यो भने हुनेवाला सरकारको भन्दा राम्रो आचरण देखाए भोट दिने उनै जनता हुन् । जाने थलो त्यही संसद हो । रास्वपाले राम्रो काम नगरे रास्वपातिरको जनलहर फेरि पुरानै दलतर्फ नफर्किएला भन्न सकिदैन ।








