काठमाडौँ । पर्सि १३ चैतमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । सोही दिन नै पूर्ण आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने बालेनको योजना छ । प्रधानमन्त्रीसँगै बाँकी मन्त्रीहरूले पनि एकैसाथ शपथ लिने गरी तयारी अघि बढेको रास्वपाका एक नेता बताउँछन् ।
बालेननिकट स्रोतका अनुसार उनी अहिले मन्त्रालय निर्धारण, मन्त्री छनोट तथा सुशासनको सवालमा तत्काल र दीर्घकालीन रूपमा चाल्न सकिने विषयहरूको तालिकीकरणमा व्यस्त छन् । ‘प्रधानमन्त्री बनेपछि छलफल गर्नुभन्दा आफ्ना योजना तथा काम निर्धारण गरेर जाँदा सहज हुने भन्दै उहाँ त्यसमा व्यस्त हुनुहुन्छ। ’ बालेननिकट एक नेताले बताए । यसका लागि बालेनले पार्टीभित्र र विज्ञहरूसँग पनि सुझाव लिइरहेका छन् । प्रधानमन्त्रीसँगै सबै मन्त्रीको नाम तय गर्न सके सरकार निर्माणमा अल्झिनुनपर्ने र डे वान्बाटै एक्सनमा आउन सजिलो हुने ती नेता बताउँछन् ।
रास्वपाका अधिकांश सांसद कुनै न कुनै क्षेत्रका विज्ञ र जुझारु भएकाले मन्त्री छान्न रास्वपाभित्रै सकस छ । रास्वपााकै पुराना नेता तथा दोहोरिएका सांसदहरू क्षमता हुँदा पनि अवसर नपाएर बसिरहेको अवस्थामा उनीहरूसँगै बालेन टिमलाई सहज बनाउन क–कसलाई सरकारमा पठाउने भन्नेबारे रास्वपाभित्रै लामो छलफल चलेको थियो । तर, केही सीमित अनुहारबाहेक मन्त्रिपरिषद्को खाका अझै तयार भएको छैन । विषय विज्ञसँगै सम्बन्धित मन्त्रालय हाँक्न सक्ने र जेनजी आन्दोलनको मागअनुसारका मुद्दा अघि बढाउन सक्ने गरीको अनुहार रास्वपाको पहिलो रोजाइमा छ ।
स्वर्णिम वाग्ले, सोविता गौतम, डोलप्रसाद अर्याल, सुनिल लम्साल, इन्दिरा राना मगर, मनिष झाजस्ता नेताहरूको नाम मन्त्रीका रूपमा अघि बढे पनि कसलाई कुन मन्त्रालय दिने वा सरकारबाहिरका सभामुख, समिति सभापतिलगायतको नेतृत्वमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल चलिरहेको छ । रास्वपााभित्र मन्त्रीका लागि पुराना पार्टी जसरी लावालस्कर नलागेको रास्वपाका एक सांसद् बताउँछन्
सांसद् अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछानेले पनि यसमा प्रष्ट सन्देश दिएकाले पार्टीका शीर्ष नेतृत्वसम्म मन्त्रीकै लागि कसैले पनि लबिइङ नगरेको ती नेता सुनाउँछन् । उनले भने, ‘आफूलाई सहज हुने गरी बालेनजीले मन्त्री चयन गर्नुहुन्छ । त्यसका लागि सुझाव दिने काम पार्टीले गर्छ ।’ तर, अन्तिम समयसम्म आइपुुग्दा पनि कसैको नाम किन टुंगिएन ? भन्ने प्रश्नमा ती नेताले करिब टुंगिसकेको र शपथकै दिन सबैले थाहा पाउने बताए ।
मन्त्रालय घटाउने विषय छलफलमाः
रास्वपाले आफ्नो बाचापत्रमै मन्त्रालयको संख्या घटाउनेबारे स्पष्ट पारेकाले बालेन नेतृत्वको सरकार गठन हुँदै गर्दा पहिलो काम त्यसमै गर्नुपर्ने छ । यसका लागि स्वर्णिम वाग्ले, बालेन शाहलगायत निरन्तर छलफल र परामर्शमा छन् । तर, कुन कुन मन्त्रालय हटाउने वा कुन मन्त्रालय कुनमा गाभ्नेबारे अझै स्पष्ट खाका तय भइसकेको छैन । सकेसम्म १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी हुँदै गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक १५ मन्त्रालय के–के हुने भन्नेबारे बालेन स्वयं र पार्टीको तर्फबाट फरक फरक धारणा प्रस्तुत भएको बालेन निकट एक सहयोगी बताउँछन् । ‘थुप्रै विषयमा सहमति भइसकेको छ, तर १–२ मन्त्रालयको विषयमा भने गाभ्ने कि नयाँ स्वरूपमा लाने भन्ने छलफल जारी छ,’ ती सहयोगीले भने । तर, मन्त्रालय गाभ्दा क्षेत्रगत रूपमा काम गर्न समस्या हुने भएकाले १७ वटासम्म मन्त्रालय राखेर १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सकिने रास्वपाकै नेताहरू बताउँछन् ।









