–सुनकुमार अवाल
७ अप्रिल लाई विश्वभर विश्व स्वास्थ्य दिवसका रूपमा मनाइन्छ।अप्रिल ७ कै दिन विश्व स्वास्थ्य संठनको स्थापना भएको थियो।
विश्वभर देखिने विभिन्न गम्भीर स्वास्थ्य समस्याहरू बारे जनचेतना फैलाउनु, स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु र सबैका लागि स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जोड दिनु यस दिवसको मुख्य उद्देश्य रहेको छ । यस वर्षको मूल नारा भनेको “स्वास्थ्यका लागि एकजुट बनौं, विज्ञानलाई साथ दिऔँ।”भन्ने हो।
सन् १९४८ सालमा स्थापना भएको विश्व स्वास्थ्य सङ्गठनको प्रथम स्थापना दिवस सन् १९५० देखि अप्रिल ७ तारिखका दिन मनाउन सुरु गरेको इतिहास छ । नेपालमा पनि यो दिवसलाई महत्वका साथ मनाइदैआएको छ। नेपाल लगायत संसारका १४० वटा देशका लिखित संविधानमा समेत स्वास्थ्यलाई नैसर्गिक अधिकारका रूपमा राखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् १९४८ मा दिएको स्वास्थ्यको परिभाषामा कुनै पनि व्यक्ति स्वस्थ हुनका लागि शारीरिक, मानसिक र सामाजिक रूपले पूर्ण रूपमा तन्दुरुस्त हुनु हो भनेको छ । यो परिभाषा अहिलेको अत्याधुनिक समयसम्म आधिकारिक परिभाषाको रूपमा स्थापित भएको छ ।
अहिलेको उत्तरआधुनिक युगसम्म आइपुग्दा प्रविधिका कारण निकै खोज र अनुसन्धानले गर्दा मानिस हरेक कुरामा जानकार रहेको छ । स्वास्थ्यका सवालमा मानिस झन् सशक्त तवरले नयाँ खोजमा उद्यत रहेको छ । मानिसले गरेका अनुसन्धानले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै आएको छ भन्न सकिन्छ । अङ्ग प्रत्यारोपण त के कुरा टेस्टट्युब वा प्रयोगशालामै बच्चा जन्माउन सक्ने अवस्थामा मानिस पुगेको छ । स्वास्थ्य क्षेत्रमा यति प्रगति हुँदै जाँदा मानिसले स्वास्थ्य सेवाको कति उपयोग गर्न सकेका र पाएका छन् त भन्ने सवाल महत्वपूर्ण हुन जान्छ ।
दुनियाँमा अहिले पनि मानिसहरूका बीचमा हुँदा खाने र हुने खानेबीच फराकिलो खाडल रहेको छ । स्वास्थ्य सेवा निकै महँगो र नेपाली जस्ता गरिबीको रेखामुनि रहेका जनताका लागि त साधारण स्वास्थ्य सेवाको पहुँचमै समस्या रहेको छ । कठिन भौगोलिक परिवेश, गरिबी, अशिक्षा, परम्परागत उपचार पद्धति र सांस्कृतिक परिवेशका कारण मानिसहरूले अझै स्वास्थ्य सेवा सहज तरिकाले प्राप्त गर्न सकेका छैनन् ।
धनीमानीहरूका लागि सामान्य भएतापनि आर्थिक पछौटेपनमा रहेका व्यक्तिहरूका लागि स्वास्थ्य सेवाको उपभोग गर्नु दुर्लभ रहेको छ । संसारका धेरै देशमा अझैसम्म पनि स्वास्थ्य उपचारका लागि साधारण सिटामोल र जीवनजलको अभावमा जीवन गुमाउनु परेका मानिस थुप्रै छन् । पर्याप्त खान नपाएर कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या पनि घट्ला भन्दा बढ्दै गइरहेको तथ्याङ्कले मानिसको अशिक्षा र चरम गिर्दो आर्थिक अवस्थाको सहजै मूल्याङ्कन गर्न सकिन्छ ।







