काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।
प्रवक्ता झाले बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने जानकारी दिए ।
बैठकको एक मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ । यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा गहन विमर्श हुने छ ।
रास्वपाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ’स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्ने नयाँ प्रस्ताव पनि अघि सारेको छ । प्रवक्ता झाका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई उनीहरू रहेकै ठाउँबाट मताधिकार सुनिश्चित गर्ने विषयलाई रास्वपाले प्राथमिकताका साथ कार्यसूचीमा राखेको छ ।
बैठकले सचिवालयले यसअघि गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न आयोग र निकायबाट प्राप्त पत्राचारका बारेमा पनि निर्णय लिनेछ ।
यसैगरी, विषयगत विभागहरूलाई योजना तयारी र नीति मन्थनका लागि आवश्यक निर्देशन दिने र संसदीय दलको विधान संशोधन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको प्रवक्ता झाले जानकारी दिए ।
केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची
१. पार्टी गतिविधि ब्रिफिङ ।
२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । २० जना २ मिनेटका दरमा
३.केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४.महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५. विधान संशोधन सम्बन्धमा ।
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आव्हान सम्बन्धमा ।
७.प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९.विविधः









