भोली देखि वास्तविक सुकुम्बासीको पहिचान गरिने, सुकुम्बासी ठहरीए अपार्टमेन्मा राखिने

१२ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ ।
यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।
यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कूल ८७१ अनधिकृत घरधुरी रहेका छन् ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ। विगतमा सोही ठाउँमा वस्ती उठाउन खोज्दा सरकार माथि नै ढुङामुढा गरी प्रतिकारमा उत्रीएका थिए
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ ।
अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिने बताइएको छ ।
वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ बताइएको छ ।

LEAVE A REPLY