टेलिकमद्वारा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम सेवा विस्तार
काठमाडौं ।राजधानीको भद्रकालीमा केन्द्रीय कार्यलाय खोली देशै भर सञ्चार सेवा प्रदान गर्दै आईरहेको नेपाल टेलिकमले दुर्गम चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाइँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरेको हो । देशका विभिन्न विकट तथा दुर्गम स्थानहरूमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । हाल नेपाल टेलिकमले यस्ता विभिन्न ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यो प्रविधिका सबैभन्दा बढी अर्थात १४ साइट डोल्पा जिल्लामा रहेका छन् । कम्पनीका अनुसार डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन् । हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा मुर्मा सोरुकोट र भी गरी पाँच÷पाँच स्थानमा साइट रहेका छन् ।

यसैगरी मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ च्छो–रोल्पा ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाईंकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन् । टेलिकमले शहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसंख्याको कोणबाट निकै कम मानिसहरू रहने दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउनका लागि भीस्याट प्रविधिको प्रयोग गरेको छ । दुर्गम वस्तीहरूमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकोप्टरबाट उपकरण र सामानहरू ओसारेर समेत दूरसञ्चार सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ । ‘यस्ता स्थानहरूमा कम्पनीले गरेको लगानीबाट व्यवासायिक लाभ हासिल हुँदैन । यो विशुद्ध रुपमा ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने कम्पनीको मूल नारालाई साकार बनाउने प्रयास मात्र हो । आगामी दिनमा यी साइटहरूलाई अन्य प्रविधिमार्फत स्तरोन्नति गर्ने कार्य गरिनेछ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी ब्याकबोन प्रसारण निर्देशनालयअन्तर्गत सञ्चालित अप्टिकल फाइबर नेटवर्कको विस्तारमार्फत पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरसँगै प्रमुख सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रहरूमा उच्च क्षमतायुक्त, सुरक्षित तथा भरपर्दो डाटा ट्रान्समिसन सेवाका लागि आवश्यक कार्य भइरहेको कम्पनीले जनाएको छ । निर्देशनालयअन्तर्गत ब्याकबोन सुदृढीकरण कार्यक्रमका अनुसार विभिन्न स्थानमा अप्टिकल फाइबर केबल ओएफसी सर्भे, एडीएसएस ओएफसी विस्तारलगायतका कार्य भएको कम्पनीको भनाइ छ । नेपाली सेना, सडक विभागलगायतका निकायसँग मिलेर विभिन्न सडकहरूमा अन्डरग्राउन्ड ओएफसी विस्तार पनि भइरहेको छ ।
विकट ग्रामीण क्षेत्र तथा विभिन्न सडकहरूमा अप्टिकल फाइबर ट्रान्समिसन नेटवर्क विस्तार, उपकरण तथा नेटवर्क सुदृढीकरणतर्फ उच्च क्षमतायुक्त राउटर तथा डीडब्लूडीएम उपकरणहरूको जडान तथा स्थानान्तरणमार्फत नेटवर्क क्षमतामा उल्लेखनीय अभिवृद्धि गरिएको कम्पनीको भनाइ छ । पुराना स्विच उपकरणहरूलाई आधुनिक राउटरमा स्तरोन्नति गरिएको छ । न्युन जनसंख्या रहेका देशका अति दुर्गम तथा विकट भौगोलिक स्थानहरूमा भरपर्दो र सर्वसुलभ दूरसञ्चार सेवा पु¥याउने उद्देश्य अनुरुप विभिन्न कार्य भइरहेको कम्पनीको भनाइ छ ।

LEAVE A REPLY