काठमाडौ मनास्लु र ल्होत्से हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम मनाउन लागिएको हो । सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्वीस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै पहिलो आरोहीहरूको सम्झनामा तीनवटा प्रतिमा निर्माण गरी अनावरण गरिने तयारी गरिएको छ ।
नेपाल पर्वतारोहण संघका दोस्रो उपाध्यक्ष बोधराज भण्डारीले अग्रज पर्वतारोही तथा उनीहरूको परिवारलाई विशेष सम्मान गरिने जानकारी दिए । कार्यक्रममा पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यो कार्यक्रम पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित भएर संयुक्त कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको हालसम्म तीन हजारभन्दा बढी आरोहीहरूले आरोहण गरिसकेको जानकारी दिए । ‘पहिलो आरोहीहरूको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ, जसलाई ‘मनास्लु डे’का अवसरमा अनावरण गरिनेछ,’ उनले भने, ‘चुम उपत्यका र आसपासका हिमाली क्षेत्रको सांस्कृतिक समृद्धिलाई पनि यस कार्यक्रममा समेटिनेछ ।’
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार जुबिली कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लु हिमालको थ्रीडी मोडेल उद्घाटन गरिनेछ । जापानका राजदूत माएदा तोरुको प्रमुख आतिथ्यमा उक्त मोडेल अनावरण गरिने जनाइएको छ ।








