काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा सिंगो पार्टीको सभापतो बन्न नसकेको बताएका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले गगन थापालाई अदालतको आदेशपछि आफुहरुले पनि सभापति मान्दा उहाँचाहीं आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाए।
‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ केहीदिन अघि थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले भनेको कुरा स्मरण गर्दै उनले भने, ‘तर पार्टी मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मामा छ भनेको छु ।’ उनले अदालतले जिताएपछि आफूहरूले पनि थापालाई सभापति मानेको बताए ।
विशेष महाधिवेशनकै कारण कांग्रेस चुनावमा पराजित भएर ३८ सिटमा खुम्चिनुपरेको खड्काले टिप्पणी गरे । पार्टी विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो । त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो’, उनले भने ।








