वित्तीय अनुशासनमा ललितपुर महानगरपालिका पहिलो

काठमाडौँ, जेठ ९ गते । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन अनुसार छ वटा महानगरपालिकामध्ये ललितपुर महानगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएर वित्तीयअनुशासनमा पहिलो भएको छ । छ वटा महानगरपालिकामध्ये वीरगन्ज र भरतपुर महानगरपालिकाको लेखा परीक्षण नगरिएको सो कार्यालयले जनाएको छ । लेखा परीक्षण भएका चार महानगरपालिकामध्ये ललितपुर महानगरपालिकाको लेखा परीक्षण भएको रकममा ०.४४ प्रतिशत रकम मात्र बेरुजु देखिएको हो । महालेखाको आर्थिक वर्ष २०८१र८२ को लेखा परीक्षणमा ललितपुर महानगरपालिका वित्तीय अनुशासनमा प्रभावकारी देखिएको हो ।
पोखरा महानगरपालिकाको १.३९ प्रतिशत र विराटनगर महानगरपालिको बेरुजु १.७३ प्रतिशत छ । काठमाडौँ महानगरपालिकामा सबैभन्दा बढी २.१९ प्रतिशत रकम बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भरतपुुर र वीरगन्ज दुई महानगरपालिकालाई पूर्ण अभिलेख तथा स्रेस्ता पेस नगर्ने स्थानीय तहको सूचीमा राखिएको महालेखाले प्रतिवेदनमा जनाएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले सधैँ कार्यालयको स्रेस्ता व्यवस्थापन प्रभावकारी रूपमा गर्दै आएकाले महानगरपालिकाको बेरुजु कम देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कानुन अनुसार पालना गर्नुपर्ने सबै काम महानगरपालिकाले गरिरहेकाले बेरुजु रकम कम हुँदै गएको हो । आगामी वर्षमा बेरुजु रकम शून्य बनाउने गरी महानगरपालिकाले काम गर्दै आएको छ ।”
महानगरपालिकाले करिब तीन अर्ब ५७ करोड रुपियाँ पुरानो रकम बेरुजु फस्र्योट गर्दै त्यसलाई करिब एक अर्ब रुपियाँमा झारेको छ । ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखादाश श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीले कानुनलाई अक्षरशः पालना गरेकै कारण महानगर कम बेरुजु कायम गर्न र विगतको बेरुजु फस्र्योट गर्न सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नीति, नियमलाई र कानुनप्रति कर्मचारी र जनप्रतिनिधिको साझा बुझाइ हुँदा बेरुजु रकम कम भएको हो । यसले गर्दा ललितपुर महानगरपालिका वित्तीय सुशासन कायम गर्न सफल भएको हो ।”

LEAVE A REPLY