काठमाडौँ, जेठ १० गते ।यो पटक माध्यमिक शिक्षा परीक्षा एसइईमा ३३ हजार ८५१ जनाले पुनर्योगका लागि निवेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुनर्योगका लागि निवेदन दिनेको उत्तरपुस्तिका खोजी कार्य सुरु भएको छ ।
उत्तरपुस्तिका खोजी कार्य सकिएपछि पुनर्योगका लागि निवेदन दिनेको उत्तरपुस्तिका सम्बन्धित विषयविज्ञलाई देखाएर अध्ययन गरिने बोर्डका परीक्षा नियन्त्रक कक्षा १० टुकराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विषयविज्ञले उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षार्थीले हल गरेका सबै प्रश्नको उत्तरका लागि अङ्क दिइएको छ कि छैन भनेर हेर्ने छन् । त्यस्तै दिइएको अङ्क पनि जोड्न छुटेको छ कि भन्नेतर्फ पनि अध्ययन गर्ने छन् ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार बोर्डका अधिकृतले हस्ताक्षर गरेपछि पुनर्योगका लागि निवेदन दिनेको नतिजा फरक आए पनि नआए पनि बोर्ड बैठक बसेर सार्वजनिक गर्ने निर्णय गरिने छ । यी सबै प्रव्रिmया पूरा गरेर नतिजा सार्वजनिक हुन केही समय लाग्ने छ ।
पुनर्योगको नतिजा सकेसम्म छिटो प्रकाशन गर्न बोर्डका कर्मचारी बिदाको समय र अन्य दिनमा समेत साँझबिहान काम गरिरहेका छन् । पुनर्योगका लागि निवेदन दिएकामध्ये धेरैको जिज्ञासा उत्तरपुस्तिका हेर्ने र पुनः परीक्षण कहिले गर्ने भन्ने रहेको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक अधिकारीले भन्नुभयो, “हामी परीक्षार्थीलाई केही दिन धैर्य गर्न अनुरोध पनि गर्दछौँ । पुनर्योगको नतिजा प्रकाशनपश्चात् कापी हेर्ने निवेदनका लागि सूचना प्रकाशन हुने र कापी हेरिसकेपछि सोसँगसँगै पुनः परीक्षणको निवेदनसमेत दिने व्यवस्था हुने छ ।”






