काठमाडौं । सरकारी विज्ञापन रोकिएको बारे चौतर्फी गुनासाहरु आइरहेका बेला सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आए पछि त्यसलाई रोक्नु परेको र सरकारी विज्ञापन वितरण गर्दा पारदर्शी तरिकाले वितरण गरिने बताउनुभयो ।
उहाँले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोका रुपमा रहेको रेडियो सगरमाथाको ३०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बचन दिनुभएको हो । उहाँले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले भने व्यापक रुपमा दुरुपयोग गरिरहेको अवस्था बारे पर्याप्त आवाज नउठेको टिप्पणी समेत गर्नुभयो । ‘पाउनुपर्ने मिडियाले सहयोग पाइरहेका छैनन्, तर नपाउनुपर्नेले दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा सञ्चार क्षेत्रबाट बलियो आवाज उठ्न सक्ने उहाँले बताउनुभयो । श्रमजीवि पत्रकार, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्र तथा सरोकारवालाले समेत यस विषयमा पर्याप्त अध्ययन, अनुसन्धान तथा बहस नगरेको उहाँको धारणा थियो ।
उहाँले अहिलेको मिडिया परिदृश्य केही अलमलिएको, बाटो बिराएको र असन्तुलित जस्तो देखिएको टिप्पणी गर्दै जनहितमा काम गर्ने सञ्चार माध्यमले मात्रै राज्यको सहयोग पाउनुपर्ने बताउनुभयो । सरकारी स्रोत जनताले तिरेको करबाट संकलित हुने भएकाले त्यसको उपयोग जनताकै लागि पारदर्शी, उत्तरदायी हुनुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै लोककल्याणकारी विज्ञापन मार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी रकम यस शीर्षकमा खर्च हुने गरेको जानकारी दिनुभयो । राज्यले मिडियालाई दिने रकमका लागि सञ्चार क्षेत्रबाट सुझाव, सहकार्य र सुधारका लागि रचनात्मक बहस आवश्यक रहेको मन्त्री तिमिल्सिनाको भनाई छ ।
उहाँले भन्नुभयो– अबका दिनमा सरकारले तथ्यमा आधारित भएर सुधारका काम थाल्न हस्तक्षेपकारी कदमहरु चाल्ने छ, यसलाई प्रभावकारी बनाउने विषयमा सञ्चार क्षेत्रको सुझाव महत्वपूर्ण हुनेछ ।
कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सामुदायिक रेडियोहरुलाई समयानुकूल प्रविधिसँग जोडेर थप सशक्त बनाउन सरकार तयार रहेको बताउदै आज पनि सामुदायिक रेडियोहरुको महत्व नघटेको महसुस भएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली सञ्चार क्षेत्रमा नैतिक उत्तरदायी र निष्पक्ष पत्रकारिताको अभ्यासलाई निरन्तर अघि बढाउन र आगामी दिनमा पनि मिडिया क्षेत्रलाई सही दिशामा लैजान सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
Home Banner News सरकारी विज्ञापन वितरणमा व्यापक रुपमा अनियमितता भएकोले रोकिएको हो, अब पारदर्शी रुपमा...








