‘ ग्लोल छनोटमा बलिया देशहरु आउने भएकाले अबको यात्रा पहिले भन्दा कठिन हुने छःपूर्व कप्तान ज्ञानेन्द्र मल्ल

टी–२० विश्वकपमा पुग्न अब नेपालले एसियाली क्षेत्रका राष्ट्रलाई मात्रै पछि पारेर पर्याप्त हुनेछैन, विश्वकै उत्कृष्ट एसोसिएट राष्ट्रहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ
आईसीसीले टी —२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेपछि नेपाललाई विश्वकप छनोटमा चुनौती थपिएको छ ।
नयाँ प्रावधान अनुसार नेपालले टी—२० विश्वकप पुग्न एसिया क्षेत्रको छनोट पार गरेर ग्लोबल छनोट पनि खेल्नुपर्नेछ ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ग्लोबल छनोटमा बलिया देशहरू आउने भएकाले अबको यात्रा पहिलेभन्दा कठिन हुने बताए ।
२० जेठ, काठमाडौं । सन् २०१४ मा पहिलोपटक आईसीसी टी–२० विश्वकप खेलेको नेपाललाई दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लाग्यो ।
पहिलोपटक ग्लोबल छनोट पार गर्दै नेपाल सन् २०१४ को विश्वकपमा छनोट भएको थियो । त्यसपछि छनोट हुन नेपाललाई ग्लोबल छनोट बाधक बन्दैगयो । ग्लोबल छनोटमा नेपाल पटकपटक असफल हुन पुग्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आईसीसी०ले सन् २०२४ को विश्वकपका लागि ग्लोबल छनोटको प्रावधान हटायो । एसिया, अफ्रिका र युरोपका २–२ तथा अमेरिका र इष्ट एशिया प्यासिफिकको क्षेत्रीय छनोटबाट १–१ टिमले टी–२० विश्वकपमा स्थान बनाउने व्यवस्था आईसीसीले गर्यो । जसको फाइदा नेपालले उठायो ।
पहिलोपटक ग्लोबल छनोट पार गरेर विश्वकप खेलेको नेपाललाई दोस्रो पटक विश्वकप खेल्न ग्लोबल छनोटको प्रावधान हट्नुपर्यो । नेपालले पहिलोपटक सन् २०११र१२ मा ग्लोबल छनोट खेलेको थियो । जसमा नेपाल ग्रुप ‘ए’ को पाँचौं स्थानमा रहँदा विश्वकपमा छनोट हुन असफल भएको थियो
दोस्रोपटकमा ग्लोबल छनोट पार गर्दै २०१४ को विश्वकप खेलेको नेपाल २०१५ मा भएको छनोटमा ग्रुप ‘ए’को अंकतालिकाको पुछारमा रहँदै विश्वकप खेल्नबाट वञ्चित भएको थियो ।
सन् २०१४ को विश्वकपमा नेपाली क्रिकेट टोली
सन् २०२१ मा भएको ग्लोबल क्वालिफायरमा यूएईसँग पराजित हुँदा नेपालले विश्वकप खेल्नबाट फेरि वञ्चित हुनपुग्यो । सन् २०१९ मा त नेपाल क्वालिफायरमै पुग्न सकेको थिएन । त्यो बेला सिंगापुरसँग पराजित हुँदा नेपाल विश्वकपको एसिया क्षेत्र छनोटमै रोकिएको थियो ।
सन् २०२४ मा आईसीसीले ल्याएको नयाँ प्रावधानले मात्रै नेपाललाई विश्वकप खेल्न राहत मिलेको थियो । एसिया क्षेत्रबाट शीर्ष दुई टोली विश्वकप छनोट हुने प्रावधान भएसँगै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पाइला टेक्न सफल भयो । त्यसबेला घरेलु मैदानमा भएको छनोटमा यूएईलाई स्तब्ध बनाएर नेपाल एक दशकपछि विश्वकपमा छनोट भएको हो ।
सन् २०२६ को टी–२० विश्वकप छनोट झनै सहज बन्यो । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रलाई गाभेर संयुक्त रूपमा छनोट प्रतियोगिता गर्दै शीर्ष ३ देश विश्वकपमा सहभागी हुने प्रावधान आईसीसीले ल्यायो । जसमा नेपाल शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा छनोट भयो ।
तर, आईसीसीको बोर्ड बैठकबाट टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको छ । जसले नेपाललाई टी–२० विश्वकपको आउँदो संस्करणमा छनोट हुन चुनौती थपिने देखिन्छ । कुन विश्वकपबाट लागु हुने भन्नेबारे एकिन निर्णय गरिसकेको छैन ।
लागु भएमा नेपालले टी–२० विश्वकप छनोट हुन एसिया क्षेत्र छनोटसँगै ग्लोबल छनोट पनि पार गर्नुपर्नेछ । एसिया, अफ्रिका, युरोप र अमेरिकासहितका क्षेत्रका शीर्ष टोलीहरू ग्लोबल छनोट खेल्नेछन् ।
ग्लोबल छनोटमा कति टोली सहभागी हुने र कति टोली विश्वकपमा छनोट हुने भन्नेबारे आईसीसीले अहिले नै निर्णय गरिसकेको छैन । आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको प्रतियोगिता संरचना र छनोट प्रक्रिया अन्तिम रूप दिन निर्देशन दिइएको छ ।
ग्लोबल छनोट लागु हुँदा क्षेत्रीय छनोटबाट आउने टोलीहरूले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नुपर्नेछ । ग्लोबल छनोट खेलेपछि मात्रै विश्वकपमा छनोट हुनेछन् । राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ग्लोबल छनोट हुँदा अहिलेजस्तो सहज नहुने बताउँछन् ।
‘ग्लोबलमा गएपछि चुनौती भइहाल्छ । आ–आफ्नो क्षेत्रबाट बलियो टिमहरू आएर खेलिराखेको हुन्छन् । त्यसले गर्दा पक्कै पनि अहिलेजस्तो सहज हिसाबले त हुँदैन,’ उनी भन्छन् ।
ग्लोबल छनोटबाट विश्वकप खेल्ने टोलीको संख्याले पनि निर्भर हुने मल्लको बुझाइ छ । उनी भन्छन्, ‘ग्लोबल छनोट खेल्दा राम्रै पनि हो । एसोसिएटमा उत्कृष्ट टिम हो भनेपछि खासै डराउनुपर्ने त होइन । तर, सहज चाहिँ छैन ।’

LEAVE A REPLY