काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र चीनको सेन्जेनबीच ऐतिहासिक सिधा उडान सुरु गर्ने भएको छ । जेठ २१ गते जुन ४, २०२६ देखि चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात सेन्जेनबीच सिधा उडान हुने भएको छ ।
हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सेन्जेनस्थित सेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई सिधा उडान सेवा आरम्भ गर्दै छ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको जनाइएको छ ।
काठमाडौं–सेन्जेन–काठमाडौं सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा दुई उडान सञ्चालन गरिने कम्पनीले जनाएको छ । काठमाडौंबाट सेन्जेनका लागि उडान प्रत्येक मंगलबार र बिहीबार प्रस्थान गर्नेछ । साथै, सेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।









