प्रधानमन्त्रीको सीमाबारेको अभिव्यक्ति दुर्भाग्यपूर्णहो, जतिसक्दो छिटो सच्याउनु पर्दछ ःनिलाम्बर आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भारत सरकार र भारतीय जनता पार्टी भाजपा ले भव्य स्वागत गरेको छ।
पूर्वराजदूत निलम्बर आचार्यले लामिछानेको भारत भ्रमणलाई सामान्य रूपमा सकारात्मक र उपयोगी मानेका छन्।
आचार्यले प्रधानमन्त्रीको सीमाबारेको अभिव्यक्ति दुर्भाग्यपूर्ण भएको र त्यसलाई जतिसक्दो छिटो सच्याउनुपर्ने बताएका छन्।
पाँचदिने भारत भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भारत सरकार र भारतीय जनता पार्टी भाजपाले भव्य स्वागत गरेको छ।
भाजपाका नेता नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते नयाँदिल्ली पुगेका रविसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा.एस. जयशंकरलगायत उच्चस्तरीय पदाधिकारीले भेटवार्ता गरेका छन्।
छिमेकी देशका पार्टी सभापतिलाई भाजपाले भव्य स्वागत गर्नु विरलै हुने घटना हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिले दुवै देशमा तरङ्ग उत्पन्न भएको बेला रविलाई दिइएको उच्च महत्त्वलाई कूटनीतिक क्षेत्रमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। यसै विषयमा भारतका लागि नेपालका पूर्वराजदूत निलम्बर आचार्यसँग रातोपाटीकर्मी गणेश पाण्डेले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ?
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति र भारतीय प्रधानमन्त्रीबिच भएको उच्चस्तरीय भेटवार्तालाई तपाईंले कसरी हेर्नुभएको छ?
दुवै देश घनिष्ठ मित्र हुन्। हाम्रा व्यापक सम्बन्धहरू छन्, जुन प्राचीन कालदेखि नै विकसित हुँदै आएका छन् र अहिले हामी आधुनिक समयसम्म आइपुगेका छौँ। धेरै क्षेत्रमा हाम्रा सहकार्यहरू छन्। त्यसैले, यो सम्बन्धलाई आधुनिक मान्यताअनुसार अगाडि बढाउनुपर्छ भन्ने दिशामा यस भ्रमणले केही न केही योगदान दिन्छ भन्ने मलाई लाग्छ। किनभने, रवि लामिछानेजी संसद्मा राम्रो उपस्थिति र जनमत पाएको ठुलो पार्टीको सभापति हुनुहुन्छ।
त्यसैले उहाँसँगको भेटघाट र उहाँलाई दिइएको स्वागत उहाँप्रति मात्र नभई नेपाली जनता र नेपालप्रति नै हो भन्ने मलाई लाग्छ। म यो भ्रमणलाई सामान्य रूपमा सकारात्मक र उपयोगी ठान्दछु। दुई छिमेकीबिच यस्ता भ्रमणहरू सरकारी तहमा पनि भइराख्नुपर्छ। जहाँसम्म यो भ्रमणमा के–के भए भन्ने तपसिलका कुरा छन्, त्यसमा केही राम्रा होलान्, केही अलिकति आलोचना गर्नुपर्ने पनि होलान्, त्यो बेग्लै कुरा हो। तर, समष्टिगत रूपमा यो भ्रमण हुनु राम्रो थियो, जुन भयो। जसरी स्वागत गरियो र भेटघाटको आयोजना भयो, त्यो हेर्दा मलाई राम्रो लागेको छ।
यस्ता भेटवार्ता विगतकै निरन्तरता हुन् कि फरक सन्देश दिन खोजिएको छ?
यो विगतको निरन्तरता पनि हो र अहिलेको समयमा आएका परिवर्तनहरूको उपज पनि हो। अहिलेको सन्दर्भको प्रभाव पनि हो। त्यसैले यी सबै कुरा मिसिएका छन्।
रास्वपाकै वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने चर्चा थियो। प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने तयारीमा थिए, तर बिचमै रोकियो। पार्टी सभापतिलाई भारतले यत्रो उच्च सम्मान दिनुको अन्तर्य के हुन सक्छ?
सत्तारूढ पार्टीको सभापतिलाई किन स्वागत र भेटघाट नदिने? स्वागत गर्नुपर्ने थिएन र? त्यसैले विषयलाई जस्तो हो त्यस्तै रूपमा हेर्नुपर्छ। यसमा नकारात्मकता खोज्नुपर्ने आवश्यकता छैन। यदि उहाँलाई भेटघाटको समय नदिएको भए वा त्यस्तो स्वागत नगरेको भए, फेरि हामी नै प्रश्न गर्ने थियौँ– ‘भेटघाट गरेन, नेपाललाई हेपेन’ भनेर। त्यसैले त्यो प्रवृत्ति हामीले छाड्नुपर्छ। जे सकारात्मक देखिएको छ, त्यसलाई सकारात्मक नै भन्नुपर्छ। अर्को कुरा, हाम्रा प्रधानमन्त्रीले भ्रमण नगर्ने भन्नुभयो। भ्रमणको तयारी भइरहेको छ भन्ने समाचार आएको थियो, तर त्यसलाई पछि थाती राखियो। न त हुने भनिएको विदेश सचिवको भ्रमण भयो, न त परराष्ट्रमन्त्रीहरूको भ्रमणको आदानप्रदान नै भयो। प्रधानमन्त्रीको भ्रमणको तयारी होला भन्ने अपेक्षा गरिएको थियो, तर त्यो पनि भएन। यसले कता–कता हाम्रा सम्बन्धहरूमा अलिकति चिसोपन आएको त होइन भन्ने हामीलाई लागेको थियो। त्यसैले, त्यो चिसोपन आएको भए पनि यस भ्रमणले त्यसलाई हटाउन मद्दत गर्‍यो।
संयोग कस्तो पर्‍यो भने हाम्रा प्रधानमन्त्रीले नेपाल–भारत सीमाबारे संसद्मा बोलेको अभिव्यक्तिलाई लिएर चौतर्फी विवाद भइरहेको छ। उहाँको अभिव्यक्तिले दुई देशबिचको कूटनीतिमा असर गर्छ कि भनिरहेको बेलामा रविको भ्रमणले समाधान निकाल्न सक्लारु
नहुने भन्ने छैन। किनभने, हामीले यहाँबाट जे समाचार बाहिर आयो, त्यति मात्रै देखेका छौँ। भ्रमणमा भित्र कस्तो कुराकानी भयो, हामीले के कुरा उठायौँ, के उठाएनौँ र के कुरामा सहमति जनायौँ भन्ने सबै विवरण आउन त बाँकी नै छ। ती विवरण आइसकेपछि मात्र त्यसबारे फरक धारणा बन्न सक्छ, अर्कै समीक्षा र विवेचना हुन सक्छ। जहाँसम्म प्रधानमन्त्रीको भनाइको कुरा छ, त्यो त दुर्भाग्यपूर्ण नै रह्यो। नेपालले पनि भारतको जग्गा मिचेको छ वा कब्जा गरेको छ भन्ने हुँदै नभएको कुरा प्रधानमन्त्रीले संसद्मा औपचारिक रूपमै बोल्नु आश्चर्यजनक छ। त्यो भन्न सुहाउने कुरा थिएन र दुर्भाग्यपूर्ण हो। उहाँले सच्याउनुहोला। त्यो भनाइलाई फिर्ता लिने प्रयास भइरहेको देखिन्छ। किनभने उहाँकै प्रवक्ताले ‘त्यस्तो भन्नुभएको होइन, आशय अर्कै हो’ भन्नुको अर्थ त्यो अभिव्यक्ति गलत भयो भन्ने महसुस भइरहेको रहेछ भन्ने बुझिन्छ।
गल्ती सच्याउन प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिए मात्रै पुग्छ कि यसले भोलिका दिनमा नेपालको अडानलाई कमजोर बनाउँछरु
यो जिब्रो चिप्लिएको कुरा मात्र होइन। ‘मैले गलत सूचनाका आधारमा भनेछु’ भनेर गल्ती स्वीकार गर्ने र फिर्ता लिने भन्ने कुरा हुन्छ। जति छिटो फिर्ता लिइन्छ, उति राम्रो हुन्छ– यो पहिलो कुरा हो। अर्को कुरा, भनिसकेको कुरा फिर्ता लिएर रेकर्डबाट हटाए पनि के भनियो र कसो भनियो भन्ने सबैलाई थाहा भइसक्छ। यसले पुर्‍याउनुपर्ने क्षति पुर्‍याइसक्यो। उहाँलाई पनि क्षति पुग्यो, देशलाई पनि पुग्यो। त्यसैले प्रधानमन्त्रीजस्तो व्यक्तिले संसद्मा बोल्दा राम्रो तयारी गरेर, विधि र प्रक्रिया नमिची बोलेको भए यस्तो हुने थिएन।
प्रधानमन्त्रीले संसद्मा बोल्दा नेपाल–भारत सीमा विवादका विषयमा मित्रराष्ट्र बेलायतको पनि सहभागिता खोज्नुभएको छ। यसले नेपालको हित कत्तिको गर्छरु
हामी दुई मित्रराष्ट्र हौँ। मित्रराष्ट्रहरूले आपसमा मिलेर समस्या सुल्झाउन सक्छन्। हाम्रा सम्बन्ध एकदमै बिग्रेको अवस्थामा संवाद गर्नै गाह्रो परेको भए त्यो बेग्लै कुरा हुन्थ्यो। यहाँ न ट्रम्पको आवश्यकता छ, न त बेलायतको। भलै अमेरिका र बेलायत पनि हाम्रा मित्रराष्ट्र हुन्, उहाँहरूसँग पनि हामीले सम्बन्ध अगाडि बढाउनुपर्छ। तर नेपाल–भारतको सम्बन्ध त हामीले द्विपक्षीय रूपमै अगाडि बढाउन सक्षम छौँ भन्ने मलाई लाग्छ। तेस्रो देशलाई आमन्त्रित गर्ने कुरालाई भारतले कहिल्यै प्रोत्साहन दिएको छैन र म पनि यसको आवश्यकता देख्दिनँ। तपाईं नेपालका लागि भारतका पूर्वराजदूत पनि हुनुहुन्छ। एउटा कूटनीतिज्ञको हिसाबले, जुन जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा वर्तमान सरकार बनेको छ र विगतका तुलनामा अत्यधिक बहुमतको शक्तिशाली सरकार बनेको छ, नेपाल र भारतबिचको सम्बन्धलाई अझ उच्च तहमा पुर्‍याएर समस्या समाधान गर्न के–के सुझाव दिनुहुन्छ?
भएका राम्रा कुराहरूलाई अगाडि बढाउने, आर्थिक सहयोगका कुराहरू अगाडि बढाउने र जनस्तरका सम्बन्धहरूलाई पनि सुदृढ गर्ने। केही थाती रहेका समस्याहरू छन्, तिनलाई यसै छाडिदिने होइन। तिनलाई पनि प्राथमिकता दिएर समाधानको बाटोमा अगाडि बढ्नुपर्छ। दुई देशबिच समाधानमुखी संवाद भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। हामी मित्रराष्ट्र हौँ। मित्रराष्ट्र भएको हुनाले खुला रूपमा समस्याबारे छलफल गर्दा अन्यथा लिइने जुन प्रवृत्ति छ, त्यसलाई हटाएर मित्रवत् संवाद चल्नुपर्छ।

LEAVE A REPLY