सीमावर्ती क्षेत्रमा स्वास्थ्य अवस्था अपेक्षा भन्दा बइी समस्याग्रस्त

बर्दिबास, जेठ २५ गते । ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था अपेक्षाभन्दा बढी समस्याग्रस्त रहेको पाइएको छ। सशस्त्र प्रहरी परिवार महिला संघको २५औँ वार्षिकोत्सवको अवसरमा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमावर्ती सम्सी गाउँपालिका–७ मा पहिलो पटक आयोजित निःशुल्क शिविरमा महिलादेखि बालबालिका तथा वृद्धवृद्धासम्म विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेको तथ्य सार्वजनिक भएको हो।
नेपाल एपीएफ अस्पताल बलम्बुका हाडजोर्नी विशेषज्ञ तथा चिकित्सक टोलीका संयोजक डा। शैलेन्द्र दुवाल श्रेष्ठका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गरिएका ४५० महिलामध्ये अधिकांशमा पाठेघरसम्बन्धी समस्या देखिएको थियो। तल्लो पेट दुख्ने, अनियमित महिनावारी, रक्तअल्पता, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या तथा सरसफाइको कमी प्रमुख समस्या रहेको उहाँले जानकारी दिनुभयो।
महिला स्वास्थ्य अवस्था चिन्ताजनक देखिएपछि शिविरमा सेवा दिइरहनुभएकी स्त्रीरोग विशेषज्ञ सशस्त्र प्रहरी निरीक्षक डा। आकर्षा श्रेष्ठसहितको टोलीले महिलाहरूलाई छुट्टै कक्षमा भेला गरी स्वास्थ्य तथा सरसफाइसम्बन्धी परामर्श र सचेतना प्रदान गरेको थियो।
बालबालिकाको स्वास्थ्य अवस्था पनि उत्तिकै गम्भीर पाइएको छ। परीक्षण गरिएका अधिकांश बालबालिकामा कुपोषण, छालाजन्य संक्रमण तथा रोग प्रतिरोधात्मक क्षमताको कमी देखिएको थियो। त्यस्तै हाडजोर्नी समस्या, बाथरोग, लुतो लगायत छालाका संक्रमण तथा बोन टीबीसम्मका समस्या ग्रामीण क्षेत्रमा व्यापक रहेको जनाइएको छ।
चिकित्सक टोलीका अनुसार स्वास्थ्य चेतनाको अभाव, रोग लुकाउने प्रवृत्ति, अशिक्षा, खुला सीमा, सुविधा सम्पन्न स्वास्थ्य संस्थाको कमी तथा आर्थिक–सामाजिक कारणले सीमावर्ती क्षेत्रको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
डा। श्रेष्ठले सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणको अनुभव आफ्ना लागि पनि नयाँ रहेको बताउँदै नियमित सरसफाइ र समयमै स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न सके ग्रामीण स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयको आयोजनामा हिजो साँझसम्म सञ्चालन भएको शिविरमा ४५० महिला, ३२५ पुरुष र ८४ बालबालिकासहित कुल ८५९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
शिविरका संयोजक तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण जलसागरका सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार नेपाल एपीएफ अस्पताल बलम्बुका प्राध्यापक सशस्त्र प्रहरी उपरीक्षक डा। शैलेन्द्र दुवाल श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय तथा जानकी मेडिकल कलेज जनकपुरका उपप्राध्यापक डा। अमितरञ्जन मिश्रको नेतृत्वमा १८ सदस्यीय टोलीसहित २९ जना चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो।
शिविरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, चर्मरोग, नाक–कान–घाँटी, दन्त तथा जनरल मेडिसिन सेवा उपलब्ध गराउनुका साथै निःशुल्क औषधि वितरण पनि गरिएको थियो।
सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले यस्ता स्वास्थ्य शिविर ग्रामीण जनताका लागि वरदानसरह भएको प्रतिक्रिया दिनुभयो। उहाँले गरिबी, पछौटेपन र अवसरबाट वञ्चित समुदायसम्म विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने यस्ता कार्यक्रम कम्तीमा वर्षमा एक पटक आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्नुका साथै सशस्त्र प्रहरीप्रति भावनात्मक निकटता बढाउने आधार पनि बनेको छ।”

LEAVE A REPLY