काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ भने तराई भू–भागमा आंशिक बादल लाग्ने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भू–भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।









