रास्वपा मधेशका जिल्ला९पालिका अधिवेशनमाकतै विवाद, कतै कुटाकुट

२५ जेठ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सिरहा जिल्ला अधिवेशनका क्रममा सोमबार दुई समूहबीच कुटाकुट भयो । कुटाकुटमा ¥यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत केही नेता–कार्यकर्ता घाइते भए ।
सिरहामा रास्वपाको नयाँ नेतृत्वका लागि सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी रहेका छन् । रामसोगारथले आफू सर्वसम्मत हुनुपर्ने दाबी गर्दै आएका छन् । सुभाष र हरि भने चुनावमार्फत नेतृत्व चयन हुनुपर्ने अडानमा छन्
झडपपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले विज्ञप्ति जारी गर्दै मंगलबार बिहान ९ बजेसम्मका लागि अधिवेशन स्थगित गरे । यहाँ तीन जना आकांक्षीमध्येबाट आइतबारदेखि नै एक जनालाई सर्वसम्मतिमार्फत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।
एक नेताका अनुसार यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्ना निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयास गर्दा विवाद बल्झिँदै गएको छ
स्वपा महोत्तरी अधिवेशन बन्द सत्रमा विवाद भएपछि आइतबार स्थगित भयो । शनिबार जलेश्वरमा उद्घाटन सत्रपछि दोस्रो दिनको बन्द सत्र रामगोपालपुरमा राखिएको थियो ।
अधिवेशनको पूर्वसन्ध्यामा तदर्थ समितिका अध्यक्ष शुभमकुमार यादवलाई पार्टीले कारबाही गर्दै अधिवेशनमा सहभागी नगराउन केन्द्रबाट पत्र पठाएपछि अधिवेशनस्थलमा मतभेद भएको थियो । दुई पक्षबीचको विवादका कारण अधिवेशन अनिश्चित समयका लागि स्थगित गरियो ।
गत जेठ १६ गते धनुषाको गणेशमान चारनाथ नगरपालिकामा प्रतीक नेपालको नेतृत्वमा समिति चयन गर्दै अधिवेशन सम्पन्न भयो । रास्वपाका केन्द्रीय परिषद् सदस्य प्रमिला सिंह र धनुषा जिल्ला सचिव नरेन्द्र कार्कीको विशेष उपस्थितिमा अधिवेशन भएको थियो ।
त्यसको भोलिपल्ट जेठ १७ गते पुनः अधिवेशन भएर राकेश यादवको नेतृत्वमा अर्को समिति चयन गरियो । विशेष उपस्थिति पार्टीका धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवको थियो । उजुरी केन्द्रीय निर्वाचन आयोगमा प¥यो । १७ गते अधिवेशन गरेका पक्षधरले वैधता आफूहरूले पाउनुपर्ने भन्दै शनिबार जनकपुरको बंशीचोकस्थित रास्वपा पार्टी कार्यालयमा नाराबाजी गर्दै तालाबन्दी गरे । स्थानीय नेता बाली शर्मा अनसन बसे । सोमबार सहमति गराएर अनसन तोडिएको छ ।
गत जेठ १७ गते जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन भयो, जहाँबाट ललन नायकको नेतृत्वमा समिति चयन भयो । उजुरी निर्वाचन आयोगमा प¥यो । पुनः आइतबार जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन भयो । ललन नायक र जितेन्द्र महासेठ उम्मेदवार थिए । जसमा मतदान प्रक्रियामार्फत नायक नै सभापतिमा निर्वाचित भएका छन् ।
माथि उल्लेखित घटनाहरू उदाहरण मात्र हुन् । मधेश प्रदेशका धेरै स्थानीय पालिका र जिल्लाका अधिवेशनमा विवादै विवाद देखिएको छ । विवादित पालिकाको अधिवेशन थाती राखेर जिल्ला अधिवेशन गर्ने कार्य भइरहेको छ ।
सिरहा जिल्ला अधिवेशनमा १७ मध्ये १५ वटा पालिकालाई मात्र सहभागी गराइएको छ । विवाद भएका दुई पालिका भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई सहभागी गराइएको छैन । यी दुई पालिकामा तदर्थ समिति गठन हुँदा पनि विवाद भएको थियो । त्यस कारण १५ पालिका मात्र सहभागी नगराइएको औरही नगरपालिका पार्टी सभापति सन्तोष यादवले बताए ।

तर, जिल्ला अधिवेशन आइतबारदेखि गर्ने प्रयास गर्दा विवादित बनेको छ । यही अधिवेशनमा आइतबार झडप नै भयो । यसरी जिल्ला अधिवेशन पनि विवादरहित रहन सकेको छैन । कुटाकुट र भाँडभैलो देखिएका छन् ।
धनुषामा १८ मध्ये १५ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । धनुषाधाम, हंसपुर र नगराइन नगरपालिकामा अझै हुन सकेको छैन । यी तीन पालिकको अधिवेशन थाती राखेर मंगबलार धनुषा जिल्लाको अधिवेशन राखिएको छ ।
पार्टी स्रोतका अनुसार रौतहट जिल्लाको अधिवेशन पनि विवादित छ । त्यहाँ बाहिरका प्रतिनिधि पनि राख्नुपर्ने प्रतिनिधिसभा सदस्यहरूको अडानका कारण विवाद भएको छ । भोलि मंगलबार त्यहाँको जिल्ला अधिवेशन हुने समय तय थियो । तर अन्तिम समयमा अपराह्न स्थगित गरिएको छ ।
विवादकै कारण बारा जिल्ला अधिवेशन अन्योल बनेको थियो । सभापति रहेका चन्दन स्वर्णकारलाई कारबाही गरेर पार्टीबाट निकालेपछि विवाद बल्झिएको थियो । त्यसका कारण दुई साताअघि जिल्लामा बसेको विस्तारित बैठकमा प्रतिनिधिसभा सदस्यहरू नै चपेटामा परे । त्यहाँ भागाभागको अवस्था सिर्जना भएको थियो
त्यहाँ सांसद कामनी चौधरीको संयोजकत्वमा पाँच सदस्यीय जिल्ला संगठन निर्माण समिति केन्द्रले चयन गरेको थियो । सो समितिमा मधेशका महामन्त्री मनिषकुमार साहसमेत छन् । समितिले वडादेखि पालिका स्तरसम्मका अधिवेशन गराएर मंगलबार जिल्ला अधिवेशनको समय तय गरेको छ ।
सर्लाहीमा जिल्ला अधिवेशनका लागि बनेको प्रतिनिधिको सूचीमै विवाद छ । यसका कारण त्यहाँ अधिवेशनबारे अन्योलता छ । पर्सामा दुई दिनअघि जिल्ला अधिवेशनमा विवाद भएको थियो । आज त्यहाँ निर्वाचन भइरहेको छ । सुशील साह कानु र हरि पन्त जिल्ला सभापतिका उम्मेदवार छन् । पन्त प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिनिधिसभा सदस्यहरू सहभागी हुन थालेपछि रास्वपाले सूचना नै निकालेर उनीहरूलाई अधिवेशनमा प्रत्यक्ष रूपमा नलाग्न भनेको थियो । तर वडा तहसम्म रास्वपाका कतिपय सांसदले आफ्ना मान्छे जिताउन लागेपछि विवाद बढेको चर्चा सतहमा छ । यसलाई पार्टीका नेताहरूसमेत स्वीकार्छन् ।

चुनावको बेला आफू जित्नका लागि स्थानीय स्तरका कार्यकर्तासँग गरेका प्रतिबद्धताले पनि यो परिस्थिति सिर्जना भएको बुझाइ छ ।

‘निर्वाचित सांसदहरूले गत चुनावमा स्थानीय नेता–कार्यकर्तासँग आफू चुनाव जित्न गरेको कमिन्टमेन्टले उनीहरूलाई नेतृत्वमा ल्याउन सघाउन खोजेको जिल्लाहरूमा देखिएको छ,’ रास्वपाका मधेश महामन्त्री मनिषकुमार साह भन्छन् ।

रास्वपा सांसद बारा–२ बाट निर्वाचित रहबर अंसारी मधेशको सबभन्दा ठूलो पार्टी भइसकेपछि धेरैले स्पेस खोज्दा सानातिना विवाद हुनु स्वाभाविक रहेको ठान्छन् ।

‘ठूलो पार्टी हो । चुनावमा धेरैले मत दिएका छन् । विभिन्न संगठन र दलबाट आएका मानिसले पनि स्पेस खोज्दा सानातिना विवाद देखिएको छ । यो स्वाभाविक हो,’ उनी भन्छन् ।
रास्वपामा विवादको कारण महत्त्वाकांक्षाः
गत फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा मधेशमा रास्वपाको अप्रत्यासित परिणाम आयो । ३२ मध्ये धनुषा–१ र रौतहट–४ बाहेक ३० वटै सिट रास्वपाले जितेको छ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको इन्ट्रीले मधेशमा चुनावी माहोल नै फेरियो । नपत्याइएका उम्मेदवारहरू भारी मतान्तरले विजयी भए । देशैभरि १८२ सिटसहित रास्वपाले चुनावी परिणाम ल्यायो ।

 

LEAVE A REPLY