काठमाडौँ । अर्थसम्बन्धी वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रिय सभाबाट असफल भएको छ । प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पुगेको विधेयकमाथि छलफल गरेर सन्देशसहित फिर्ता गर्नुपर्ने भए पनि यो विधेयक भने राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनै सकेन । गत मंगलबार र बुधबारको कार्यसूचिमा परेको यो विधेयक सभामा सम्पूर्ण सदस्यको विरोधका कारण अघि बढ्न नसकेको हो । विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल–भारत सीमाको विषयमा दिएको अभिव्यक्तिका कारण दुवै सदन अवरुद्ध बनेको छ । सोही क्रममा प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने राष्ट्रिय सभाका सदस्यहरुको अडानका कारण संवैधानिक सोभा अनुसार राष्ट्रिय सभाले उक्त विधेयक समयमै पास गर्न नसकेको हो । यो विधेयक सभामा निर्णयार्थ प्रस्तुत हुने प्रक्रियामै अगाडि बढ्न सकेन । वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाले जेठ ७ गते पारित गरी राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभामा विचाराधीन रहेको यो विधेयक जेठ २२ गतेसम्म पारित गरिसक्नुपर्ने थियो । तर राष्ट्रिय सभाको अर्को बैठक २६ गते मात्र बस्ने भएकाले बुधबारको अवरोधका कारण सो विधेयक जस्ताको त्यस्तै प्रतिनिधि सभामा जाने भएको छ । योसँगै राष्ट्रिय सभाको यस विधेयकका लाग अन्तिम मिति २२ गतेसम्म मात्र भएकाले त्यसपछि प्रतिनिधि सभाले राष्ट्रिय सभाको सन्देशबिनै यसलाई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउने भएको छ । अर्थ विधेयक प्रतिनिधि सभाले पारित गरेर पठाएको १५ दिनभित्र राष्ट्रिय सभाले पारित गरिसक्नु पर्छ नत्र संविधानको धारा १११ को उपधारा ४ अनुसार प्रतिनिधि सभाले सोझै राष्ट्रपतिसामु प्रमाणिकरणा लागि पठाउन सक्छ ।









