लामिछाने र खनालको भारत भ्रमणले सम्बन्धमा नयँ सुरुवात भएकै हो त?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले एकै हप्ता भारतको भ्रमण गरेका छन् । सभापति रवि लामिछाने ५ दिने औपचारिक भ्रमण सकेर नेपाल फर्किएकै दिन परराष्ट्र मन्त्रि शिशिर खनाल पनि नयाँ दिल्ली भ्रमणमा गएका छन् र दुवै जनाले उच्च सम्मान र उच्चस्तरीय भेटवार्ता समेत गरेका छन् । यस उच्च सम्मान र उच्चस्तरीय भेटवार्ताले नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवात भएको दावी पनि गरिएको छ । यससँगै भारतीय संस्थापन पक्षले रवि लामिछानेलाई दिएको उच्च महत्वले विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । कसैले यो महत्वलाई बालेन्द्र शाह नेतृत्वको सरकारको आयु र रास्वपाको भविष्यसँग जोडेर हेरेका छन् । कसैले नेपालमा उदाएको नयाँ शक्तिसँग भारतीय संस्थापनको सम्बन्ध स्थापित गर्ने रणनीतिको रुपमा लिएका छन् । कसैले भने नेपाल–भारतबीचको कुटनीतिक सम्बन्धमा नयाँ आयाम थपिन सक्ने ढंगबाट राय प्रकट गरिरहेका छन् । जसले जे तर्क–वितर्क गरे पनि रास्वपा नेताद्वयको भारत भ्रमणले नेपाल–भारतबीचको सम्बन्धमा नयाँ सुरुवात भने भएको हो ।
हुन त यसअघि पनि नेपालको राजनीतिक नेतृत्व नयाँ आउने वित्तिकै भारत भ्रमणमा जानुपर्दथ्यो र ढिलो चाडो समय अनुकूल पारेर जाने चलन नै थियो । राजधानी काठमाडौंमा नयाँ राजनीतिक नेतृत्व आउना साथ नयाँ दिल्लीले सम्पर्क र सहकार्यका लागि तत्परता देखाउने परम्परा नै बसाएको कुटनीतिज्ञहरुको जिकिर छ । यस अघि २०६४ सालमा भएको संविधान सभा चुनावपछि माओवादीको उदय र २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन हुँदा सबैभन्दा पहिले प्रतिक्रिया जनाउने र सहकार्यको घोषणा गर्ने मुलुक भारतनै थियो । त्यसैले अहिलेको उच्च सम्मान र उच्चस्तरीय भेटघाटलाई धेरै शंका र उपशंका गर्नुत्यति उपयुक्त नहुने राजनीतिक विश्लेषकहरुले विश्लेषण गरेका छन् । तत्कालिन समयमा नेपाल कम्युनिष्ट पार्टीले दुईतिहाइ बहुमत ल्याएपछि भारतका तत्कालिन विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौं आएर केपी ओली नेतृत्वको सरकारसँग संवाद र सहकार्य अघि बढाउनुभएको थियो ।
करिब दशकपछि एकल पार्टी रास्वपाको नेतृत्वमा शक्तिशाली सरकार बनेपछि दिल्लीले सभापति लामिछानेलाई भारत बोलाएर प्रधानमन्त्रीस्तरको सम्मान गरेको छ । लामिछानेलाई दिएको उच्च सम्मान र भव्य स्वागतका पछाडिका कारणहरुले रास्वपाको आन्तरिक गतिशिलता, प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबीचको सम्बन्ध, कुटनीतिक शिष्टाचार कायम राख्ने सवालमा प्रधानमन्त्रीको स्वघोषित बन्देज, सिमा विवाद बारे प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति र भातीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण रद्दसँग पनि जोडेर हेरिएको छ ।
५ दिने भ्रमण सकेर गत शुक्रबार स्वदेश फर्किनु भएको सभापति लामिछानेले नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवात भएको दाबी गर्र्दै आफ्नो भारत भ्रमणलाई लिएर नेपालमा उठेका राजनीतिक बहस र अडकलबाजी बारे निकै होसियारी पूर्वक जवाफ दिनुभएको छ । उहाँले रास्वपा सरकार परिवर्तन वा अस्थिरताको राजनीतिमा नरहेको बताउदै चुनाव अघि गरेको सम्झौतामा अडिग रहको बताउनुभयो । उहाँलाई राजनीतिक वृत्तमा चलेको चर्चामा अब प्रधानमन्त्री बन्ने तयारी कस्तो छ भनेर प्रश्न गरिएको थियो ।
लामिछानेले भारत भ्रमणका क्रममा भाजपाको पार्टी मुख्यालयमा आफुलाई गरिएको सम्मान, स्वागतलाई व्यक्तिगत रुप नलिन आग्रह गर्दै यो सम्मान मेरो पार्टीको भ्रमण दलमा भएका साथीहरुका लागि होइन मुलुकका लागि हो र नेपाल र नेपालीका लागि हो ।
लामिछाने नेपाल फर्किएकै दिन समकक्षीको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री शिशिर खनालले पनि उच्च सम्मान प्राप्त गरी उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।
औपचारिक भ्रमणमा भारत जानु भएका खनालले भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख डा।विजय चौथाइवालेसँग भेटवार्ता गर्नुभयो । वार्तामा दुईदेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । भेटवार्तामा दुवै नेताहरुबीच राजनीतिक दलहरु तहको सम्बन्ध र अन्तरक्रियालाई अझ गहिरो बनाउने तथा नेपाल र भारतका नागरिकबीच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा कुराकानी भएको दूतावासले जनाएको छ । खनालको भ्रमणका क्रममा दुवै पक्षबीच केही सम्झौता र समझदारी हुने अपेक्षा गरिएको छ । समग्रमा नेताद्वयको भारत भ्रमणले नेपाल–भारत बीच नयाँ सुरुवात हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY